प्रचण्डबाहेक अरूले माओवादीको नेतृत्व गर्ने क्षमता राख्दैन, अरू नेतामा कुशलता छैन : मातृका यादव (भिडिओ सहित)


काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले पार्टीको नेतृत्व गर्छुमात्रै भनेर नहुने भन्दै त्यहीअनुसारको विचार चाहिने बताएका छन् । जनार्दन शर्माले अब माओवादीको नेतृत्व गर्ने अरे नि ? भनेर पत्रकार ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको लागि सोधेको प्रश्नमा नेता यादवले यस्तो जवाफ दिएका हुन् ।

उनले भने,‘अब नेतृत्व कुनै व्यक्तिले म गर्छु भनेरमात्रै हुँदैन, त्योअनुसारको विचार चाहियो । सबैले मान्य नेता चाहियो । ईच्छा त सबैलाई हुन्छ नि । नेतृत्व गर्ने क्षमता र कुशलता हाम्रो पार्टीमा अहिले अरुमा छैन । अहिले साथीहरुले म नेतृत्व गर्छु भनेर हुँदैन । अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा सबै हिँड्नुपर्छ ।’ उनले पार्टीभित्र देखिएको अहिलेका गुटहरु भत्काउनुपर्ने माग गरे ।

उनले जनयुद्धकालिन समयमा जस्तै सबै नेता तथा कार्यकर्ताहरु एक ठाउँमा बसेर पार्टीभित्र देखिएका समस्या हल गरिनुपर्नेमा जोड दिए । उनले माओवादी नै अहिलेपनि जनताको लागि आशाको केन्द्र बनेको दाबी गरे । उनले आफूले पनि नेतृत्व गर्नसक्छु भनेर माओवादीबाट अलग भएर हेरिसकेको र परीणाम ल्याउन नसकेको भन्दै त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए ।

उनले भने,‘विगतबाट हामी सबैले पाठ सिक्नुपर्छ । हामी एकजुट भएर अघि बढ्नुपर्छ ।’ उनले अहिले प्रचण्डको विकल्प नभएको जिकिर गरे । उनले एमाले कम्युनिष्ट पार्टी नै नभएको दाबी गरे । एमालेको नेतृत्वमा केपी शर्मा ओली रहुञ्जेलसम्म त्यो पार्टी कम्युनिष्ट पार्टी नै नबन्ने र ओली निरंकुश नेता भएको उनको टिप्पणी छ ।