काठमाडौं, ११ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घट्नाक्रमको कारण पूराना दल र नेतृत्वप्रति जनतामा तिव्र गतिमा वितृष्णा र आक्रोश बढेको औंल्याएका छन् । उनले सुशासन र समृद्धिको क्षेत्रमा तत्कालै जनतालाई आशा र विश्वासको सञ्चार गराउनुपर्ने आवश्यकत्ता पनि औंल्याएका छन् ।
आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा समेत साझा उम्मेद्वार तय गरिनुपर्ने उनको मत छ । भट्टराईले फेशबुकमा लेखेका छन्–
पछिल्ला राष्ट्रिय र अन्तर्राष्ट्रिप घटनाक्रम, पुराना दल र नेतृत्वप्रति जनतामा तीव्र गतिमा बढ्दो वितृष्णा र आक्रोश, मुख्यतः सुशासन र समृद्धिको क्षेत्रमा तत्कालै जनतालाई आशा र विश्वासको संचार गराउनुपर्ने आवश्यकता, निकट भविष्यमै देशमा भरपर्दो अग्रगामी वैकल्पिक राजनीतिक शक्ति निर्माणको सम्भावना लगायतलाई मध्यनजर गर्दै देशमा गम्भीर विमर्श गर्नुपर्ने वेला आएको छ।
यसनिम्ति उदीयमान नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू, विभिन्न दलहरूभित्रका निष्ठावान प्रगतिशील लोकतान्त्रिक तप्काहरू, सचेत नागरिकहरू सबैले आआफ्नो ठाउँबाट आवश्यक भूमिका निर्वाह गर्नु आवश्यक र वाञ्छनीय हुनेछ।
लोकतन्त्रमा आवधिक निर्वाचनको समय नै जनस्तरमा बढी राजनीतिक विमर्श, क्रियाशीलता र ध्रुवीकरणको विन्दू हुने भएकाले आगामी कार्तिक १७ गतेकालागि घोषित रूपन्देही-३ को प्रतिनिधिसभा निर्वाचनमा साझा वैकल्पिक उम्मेदवारको घोषणा त्यस दिशामा महत्वपूर्ण प्रस्थानविन्दू हुनसक्छ।
सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण होस्!




प्रतिक्रिया