काठमाडौं, ११ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको राजनीतिक हालत अहिले ठीक नभएको बताएका छन् । जनता अहिले दुःखी रहेको पनि साहको भनाई छ ।
आम प्रवासी नेपाली एकता समाजले आज (आइतबार) भारतको मुम्बईमा आयोजना गरेको विशेष अन्तरक्रियामा बोल्दै उनले भने,‘नेपालको राजनीतिक हालत ठीक छैन । जनता दुःखी छन् । नेताहरुको काम र व्यवहारबाट पनि जनता दुःखी छन् । नेताहरु नै लुट, चोरी र भ्रष्टाचारमा लागेका छन् । देशको बारेमा यस्तो कुरा सुनाउनुपर्दा मलाई दुःख लागेको छ । देशमा अहिले प्रजातन्त्र हराएको छ । नैतिकता हराएको छ । अहिले देशमा जुन सरकार बनेको छ, त्यसले खुशी हुनुपर्ने, जनतामा हिम्मत बढ्ने काम गर्दैन् । खाली निराश हुनुपर्ने अवस्था सिर्जना भएको छ । यो विषयमा पनि तपाईं हामीले नजर राख्नुपर्छ ।’ उनले नेपाली जनताले परिवर्तनको लागि ठूलो ठूलो आन्दोलन गरेको र त्यसमा आफूले पनि योगदान दिएको सम्झिए ।
उनले भने,‘हिजो म जनयुद्धमा सामेल भएँ, जनआन्दोलनमा अग्रभागमा सहभागी थिएँ । संविधान सभामा मैले लगातार लडें । संविधान लेखनको काममा नेताहरुबाट गद्दारी भएको थियो, त्यो देखेपछि मैले विद्रोह गरें । यो धोकाको दस्तावेजमा सही गर्दिनँ भनेर विरोध गरेको थिएँ । आज देशमा अस्तव्यस्त भएको छ ।’ नेपालमा अहिले कुनैपनि क्षेत्र खुशी हुनलायक नभएको पनि साहको आरोप छ।
संविधानलाई उनले बिग्रिएको अण्डा (गण्डा) को संज्ञा दिए । उनले हिजो लोकतन्त्रको लागि लडिएको भएपनि अहिले देशमा लुटतन्त्र बनाईएको दाबी गरे । उनले जित्नेले शासन गर्ने व्यवस्थालाई लोकतन्त्र भनिएको भएपनि नेपालमा दलतन्त्र लादिएको आरोप लगाए । हिजो राजाको अगाडि दलहरुको केही नचलेकोजस्तै आज दलहरुको अगाडि निर्वाचित जनप्रतिनिधिहरुको केही पनि हैसियत नभएको र केही पनि नचल्ने उनको दाबी छ ।
उनले अहिले नेपालमा पार्टीको शासन माथि रहेको बताए । उनले भने,‘नेपालमा लोकतन्त्र छैन । यदि नेपालमा लोकतन्त्र हुन्थ्यो भने संसद्को सुप्रिमेसी हुन्थ्यो । अहिले त्यो छैन । हिजो ०७९ को निर्वाचन हुँदा कांग्रेस एउटा गठबन्धनमा थियो, एमाले अर्को गठबन्धनमा थियो । दुई गठबन्धन बनेको थियो । चुनाव भयो । अहिले कांग्रेस र एमालेको सरकार छ । यो भनेको जनताप्रति धोका हो । जोसँग लडेको हो, उसैसँग मिल्ने कुरा गद्दारी हो । पार्टीपनि जनताअनुसार चल्नुपर्छ । जनतासँग एउटा वाचा गरेर भोट लिने अनि काम अर्को गर्ने । यो लोकतन्त्रको उपहास हो ।’
उनले अहिले नेपालमा देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र रहेको आरोप लगाए । उनले आफूहरु लोकतन्त्रको लागि लडेको भन्दै जनताको शासन नल्याएसम्म आन्दोलन र संघर्ष नरोकिने उद्घोष गरे । उनले विदेशमा बसेका नेपालीहरुले पठाएको रेमिट्यान्सको समेत दुरुपयोग गरिएको भन्दै देश कंगाल बनाउने नेताहरुलाई चिन्न जरुरी रहेको बताए । विकसित देशमा बसेका नेपालीहरुले दोहोरो नागरिकता लिएको र नेपालको सम्पत्तिपनि बेचेर विदेश पुर्याउनेजस्तो राष्ट्रघाती काम भएको भन्दै अहिलेको व्यवस्थाको विरोध गरे । उनले नेपालमा तीन तहमा संघीयता रहेको भन्दै यो पनि दुनियाँमा नभएको संघीयता भएको टिप्पणी गरे ।
उनले दुनियाँमा नभएको नाटक नेपालमा संघीयताको नाममा भएको भन्दै आलोचना गरे । उनले संघीयतालाई नेपालमा नपुंशक बनाईएको भन्दै यो सच्याउनुपर्ने माग गरे । उनले नेपालमा समानुपातिकको अवसरपनि दुरुपयोग गरिएको र शासक जातिलाई आरक्षण दिईएको भन्दै आलोचना गरे ।
उनले सबै भाषा, धर्म र संस्कृतिको समान प्रतिनिधित्व हुनुपर्ने आफूहरुको माग रहेको बताए । नेपालमा शासकहरुले बोलीमा एउटा र व्यवहार अर्को गरेको उनको भनाई छ । उनले अहिलेका पार्टीहरुबाट देश चल्न सक्दैन भनेर त्याग गरिदिएको बताए । उनले माओवादी, एमालेमा राम्रो पदमा हुँदापनि आफूले दल त्याग गरेर जनताको लागि संघर्ष गर्न नयाँ दल बनाएर अघि बढेको स्पष्ट पारे । उनले आफू जहिल्यैपनि जनताको पक्षमा उभिने अठोट गरे ।
उनले आफूसँग संख्या र सत्ता नभएपनि सत्य रहेको बताए । सत्य बोकेर हिँड्दा नै गन्तव्यमा पुग्न सकिने उनको भनाई छ । अहिलेका एमाले, कांग्रेस र माओवादी केन्द्रका नेतृत्वहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले आफ्नो पार्टी छोडेर चुनाव लडे जित्न सक्छन् त ? भन्दै साहले प्रश्न गरे । आफूले निर्वाचनको मुखमा एमालेको टिकट त्याग गरेपनि जित हाँसिल गर्नुको कारण सत्य बोक्नु र जनताको साथ रोज्नु भएको साहको भनाई छ । अहिले नेपाली जनताले नयाँ निकास खोजेको साहको भनाई छ । उनले नेपालमा अहिले कांग्रेस र कम्युनिष्ट उस्तै रहेको र एक भएको टिप्पणी गरे ।
उनले नेपालका उच्च ओहोदामा बसेका उच्च पदस्थ व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति सबैका सन्तान र सम्पत्ति विदेशमा रहेको गम्भीर आरोप लगाए । कतिपयले विदेशी नागरिकता लिइसकेकोले अब तिनीहरुलाई विदेशी भन्ने कि नेपाली भन्ने भनेर पनि साहले प्रश्न गरे । उनले नेपालमा लुटेर विदेश लैजानेहरु भगौडा दलालहरु भएको संज्ञा दिए ।
नेपालको लागि काम गर्ने, सोच्ने र श्रम गर्नेहरु अहिले प्रताडित रहेको साहको भनाई छ । ठगी गर्ने, लुट गर्ने र भ्रष्टाचार गर्नेहरुको नै अहिले नेपालमा बोलवाला रहेको साहको आरोप छ । यो प्रवृत्तिलाई तत्काल बदल्नको लागि सबै देशभक्त, इमानदार नेपालीहरु एकजुट हुनुपर्ने साहको आग्रह छ । उनले इतिहासदेखि नै नेपाल भनेको बहादुर, इमानदारहरुको देशको रुपमा चिनिएको स्मरण गराए । दुनियाँको कसैसामू पनि नेपाल कहिल्यै नझुकेको र गुलाम नबनेको पनि उनले इतिहास सम्झाए ।
प्रकृतिले वरदान दिएको स्वर्गको टुक्रा नेपालजस्तो देशलाई अहिले नर्क बनाईएको भन्दै उनले देशलाई यो कंगाल बनाउनेहरुसँग हिसाब लिनुपर्ने पनि साहको चेतावनी छ । शुद्ध हावा, शुद्ध पानी, राम्रो जमिन र इमानदार जमिन हुँदापनि नेपाललाई पछि पारिएको भन्दै यसरी देशप्रति गद्दारी गर्नेहरुसँग अब एक एक हिसाब लिने बेला आएको उनको चेतावनी छ ।
उनले नेपालमा अहिले दुई किसिमको मान्छे भएको भन्दै एकथरी नेपालमा भएपनि विदेशको लागि सोचिरहेको टिप्पणी गरे । अर्कोथरी नेपालीहरु प्रवास र विदेशमा बसेरपनि नेपालको सोच्ने गरेको उनको भनाई छ । उनले भने,‘मैले नेपालमा दलतन्त्रको विरुद्धमा जब विद्रोह गरेर आम जनता पार्टी बनाएपछि यो मेरो पहिलो विदेश यात्रा हो । मुम्बई नै मैले किन रोजें त ? किनकी तपाईंहरु मेरो लागि खास हो । भारत र नेपालबीचको सम्बन्ध पनि खास हो । भारत हाम्रो लागि खास हो । हाम्रो यात्रा तपाईंहरुबाट सुरु गरेको हो । तपाईंहरुको लगाव र भूमिकाबाट म प्रेरित छु । यहाँबाट कार्यक्रम सुरु गर्न पाउँदा मलाई गौरव छ । खुशी छु । यसर्थ पनि तपाईंहरुलाई म धन्यवाद भन्न चाहन्छु ।’
मुम्बईमा बसेका नेपालीहरुले प्रतिष्पर्धाको दुनियाँमा श्रैष्ठता हाँसिल गरेको भारतको विकासमा समेत टेवा पुर्याएको साहले सम्झिए । ठूला पार्टीका नेताहरु युरोप, अमेरिकालगायतका देशको यात्रामा रहेको र विस्तारै उनीहरु भारत प्रवासमा रहेका नेपालीहरुसँगपनि भेटन आउनसक्ने सुनाए । ठूला पार्टीका नेताहरु भोटको राजनीति गर्नको लागि विदेश यात्रामा निस्किने गरेको भएपनि आफू नेपाल र नेपालीहरुको गौरव बढाउनको लागि भूमिका खेल्नकोलागि आह्वान गर्न आएको साहले सुनाए । उनले भने,‘म त देश र जनताको बारेमा सत्य कुरा सुनाउनको लागि आएको छु । देश र जनताको हितको कुरा गर्न आएको छु । तपाईंहरुको पनि हितको कुरा गर्न आएको छु ।’






प्रतिक्रिया