म रास्वपामा प्रवेश गर्दिनँ, अहिलेको काँग्रेस भाउजू कांग्रेस हो : अमरेशकुमार सिंह (भिडिओ सहित)


काठमाडौं, ११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको दाबी गरेका छन् । रविविरुद्ध प्रतिशोध साँधिएको भनेर रास्वपाले चलाएको हस्ताक्षर अभियानमा आज सरिक भएका सिंहले प्राइम टिभीको चर्चित कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

सिंहले आफूले अदालतको निर्णय र फैसलालाई पनि गुण र दोषको आधारमा लिने गरेको बताए । उनले आफू रास्वपामा प्रवेश नगर्ने स्पष्ट पारे । उनले आफू स्वतन्त्र प्रतिनिधि भएको र जनताको कुरा उठाउनको लागि राजनीतिमा रहेको बताए । उनले आगामी निर्वाचन ०८४ मा रास्वपासँग सहकार्य हुनसक्ने कुरा आफूले भनेको पनि स्मरण गराए ।

उनले नेपाली कांग्रेसमा लोकतन्त्र नभएको कारण आफ्नो यो हबिगत भएको चित्रण गरे । उनले आफू विगतमा भएको कांग्रेस र अहिलेको कांग्रेस फरक रहेको बताउँदै अहिलेको कांग्रेसलाई भाउजु कांग्रेसको संज्ञा दिए । उनले अहिलेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा असफल भएको दाबी गरे । उनले देशमा लगानी पनि नभित्रिएको जिकिर गरे । अहिले पासपोर्ट छपाईको जिम्माको ठेक्कापनि नेताहरुको छोराछोरीलाई दिईएको भन्दै यो प्रकरणमा छिट्टै संसद्मा आवाज उठाउने पनि सिंहले घोषणा गरे ।

उनले कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापा अहिलेको सरकार बनेपछि लुकेर हिँडेको आरोप लगाए । कांग्रेस र एमालेको सरकार बन्नुअघि शर्मा र थापाहरु चिच्याई चिच्याई बोल्ने गरेको तर अहिले मिडियासँग भागेर हिँड्नुपरेको उनको आरोप छ । उनले आफूले जीवनमा कुनै नेताको पनि चाकरी नगरेको स्पष्ट पारे । उनले अहिलेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहालभन्दा ठीक रहेको बताए ।