काठमाडौं, ११ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले केपी शर्मा ओली अब नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नेतृत्वमा नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने-“केपी ओलीपछि शेखर कोइराला नै प्रधानमन्त्री बन्नुहुन्छ । कांग्रेस र एमालेको गठबन्धन के गर्छ मलाई थाहा छैन, तर ओलीजी पछि शेखर कोइराला प्रधानमन्त्री बन्नुहुन्छ । यत्ति चाहीँ मैले बुझेको छु । नेपालमा कोही पनि नेता वचनको पक्का छैन ।”
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भाँडबहादुरको संज्ञा दिए । उनले आजको दिनमा शेखर कोइरालासँग नेपाली कांग्रेसमा ३९ जना सांसदहरु रहेको दाबी गरे । उनले भने-“आजको दिनमा शेखर कोइरालासँग ३९ जना सांसद हुनुहुन्छ । हस्ताक्षर छ । अब पाँच जना पुगेको छैन ।”
उनले आफूले मन्त्री बन्नको लागि कसैसँगपनि नमागेको स्पष्ट पारेका छन् । अहिले शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ भनेर वकालत गर्दापनि मन्त्री नमागेको उनको स्पष्टोक्ति छ । आज (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूले कहिल्यैपनि कोहीसँग मन्त्री नमागेको जिकिर गरे ।
उनले अहिले नेपाली जनताको चाहना भनेको ठूला पार्टीका ठूला तीन जना नेताहरुबाट चल्दैन भनेर विकल्प खोेजेको बताए । उनले जनताले अहिले देशको नेतृत्वमा नयाँ अनुहार (चेहरा) खोजेको बताए । अहिलेको संसद्मा सबभन्दा ठूलो दल नेपाली कांग्रेस भएकोले त्यो दलबाट नयाँ अनुहार नै शेखर कोइराला भएको उनले सुनाए । अहिलेको सरकारले केहीपनि काम गर्न नसकेको सिंहको आरोप छ । जनतालाई यतिवेला भाषण नचाहिएको पनि उनले बताए ।
उनले भने-“जनतालाई डेलिभरी चाहिएको छ । सुशासन चाहिएको छ। मलखाद चाहिएको छ । वडादेखि सिंहदरबारसम्म भ्रष्टाचार छ । उनले शेखर कोइराला प्रधानमन्त्री बनाईए मुलुकमा भ्रष्टाचार घट्नेपनि दाबी गरे । उनले आज एमाले समस्यामा रहेको बताए । उनले भने, आजको दिनमा एमाले समस्यामा छ । यो कुरा मान्नुहुन्छ कि हुन्न ? विद्या भण्डारी र केपी ओलीबीचको द्धन्द्ध सामान्य छैन । यसको फ्युचर परीणामले बताउला । शेखर कोइराला र शेरबहादुर देउवाबीच द्धन्द्ध छ, यो पनि सामान्य होईन ।यो सुरुवात हो । आगो सल्किएको पनि छैन। जनार्दन शर्मा र प्रचण्डको द्धन्द्ध छ ।” उनले नेपाली जनता गरिबीमा रहेको भन्दै देशमा भिआईपी तन्त्र नचाहिने बताए ।




प्रतिक्रिया