कांग्रेस बाग्मती प्रदेशको संसदीय दलको बैठक १ बजे बस्दै, मुख्यमन्त्री लामाको पद के हुने आज टुँगो लाग्ने


काठमाडौं, १२ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको देखिएको किचलो आज टुँगो लाग्ने भएको छ । आज (सोमबार) दिउँसो १ बजे दलको बैठक बस्ने भएको छ । बाग्मतीको किचलो हल गर्नको लागि सभापति शेरबहादुर देउवाले राजन केसीलाई कमाण्डर तोकेका छन् । उनी हिजै हेटौंडा पुगिसकेका छन् ।

अहिले संसदीय दलको नेताको जिम्मेवारीमा बहादुर सिंह लामा छन् । उनलाई हटाउनको लागि इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ जना सांसदले हस्ताक्षर गरेका छन् । मुख्यमन्त्रीसमेत रहेका लामा यतिवेला संसदीय दलमा अल्पमतमा छन् । बाग्मतीमा कांग्रेसका ३७ जना सांसदहरु छन् ।

तीमध्ये २१ जना बानियाँको पक्षमा लाग्दा लामाको पक्षमा जम्मा १६ जना छन् । दलको नेतामा कायम रहनको लागि लामाले तीन जना सांसद जुटाउनुपर्ने हुन्छ ।लामाले दलको नेताको लागि आफू फेस गर्न तयार रहेको जवाफ दिएका छन् । मुख्यमन्त्री लामाको भाग्यको आज फैसला हुने भएको छ । उनले पनि यो बीचमा आफ्नो पक्षमा सांसद तान्नको लागि भगिरथ प्रयत्न गरेको कुरा बाहिरिएको छ। कतिपयलाई उनले मन्त्रीको लोभसमेत देखाएको चर्चा छ । file photo