काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा उनले आफू पार्टी रूपान्तरणको पक्षमा रहेको बताए । ‘पार्टी विभाजन गर्ने पक्षमा म किमार्थ छैन र त्यो हुन पनि दिइने छैन,’– उनले भने ।
तर, माओवादीभित्र भयङ्कर जनवाद छ भनिरहँदाखेरी सबैभन्दा सिनियर नेता मोहन वैद्यदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा ब्राण्ड बनाएको बाबुराम भट्टराई हुँदै जनयुद्धमा छाती थापेर हिँड्ने नेताहरु कसरी पार्टीदेखि बाहिर हुँदै गए भन्ने प्रश्न उठिरहेको उनले बताए । उक्त विषयमा छलफल हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि उनले सुनाए ।
‘तपाईँलाई पार्टीले कारबाही गर्यो भने नि ?’ भन्ने प्रश्नमा उनले आफू जस्तोसुकै कारबाही पनि भोग्न तयार रहेको तर कहिले पनि पार्टी विभाजनको पक्षमा नउभिने बताए ।
‘पार्टी रूपान्तरणको निम्ति जस्तोसुकै कारबाही भोग्न पनि तयार छु । सेतो टोपी लगाएर ग्रामिण क्षेत्रमा श्रम शिविरमा जान पनि तयार । तर, पार्टी छोडिँदैन,’– उनले भने ।




प्रतिक्रिया