-राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), १२ साउन । स्याङ्जाको वालिङ नगरपालिका–१ का टंकप्रसाद ढुङ्गानाले व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आएका छन् । ढुङ्गानाका एक हजार पिलरमा लगाइएका बिरुवाले फल दिईरहेका छन् । उनले आफ्नो र भाडाको गरी २० रोपनी जग्गामा ड्रागन लगाएका हुन् । ८० रोपनी जग्गा मध्ये अन्य क्षेत्रमा केरा,सुन्तला लगायत लगाएका छन् ।
उत्पादन भएको ड्रागन फल गत वर्षबाट बजार पठाउन सुरु गरेका ढुङ्गाना अहिले निक्कै उत्साहित छन् । नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिए पछि उनी उत्साहित भएक हुन् ।
उनले भने, “बजारमा बिक्री हुँदा ग्राहकले दिने मूल्य पनि पाइयो, पालिकाले दिने उत्पादनमा आधारित प्रोत्साहन अनुदान पनि पाइयो ।” यसले आफूमा काम गर्ने उत्साह बढेको उनको भनाइ छ ।
पालिकाले ढुङ्गानालाई एक लाख उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलव्ध गराएको हो । पालिकाले उत्पादन बढाउँने योजनाका साथ उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिन सुरु गरेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख सुभाषचन्द्र अर्यालले जानकारी दिए ।
किसानले आफूले गरेको उत्पादन,क्षेत्रफल तथा बिक्री वितरणका आधारमा प्रोत्साहन अनुदान दिइएको प्रमुख अर्यालको भनाइ छ । उनका अनुसार ८ हजारदेखि एक लाख सम्म प्रोत्साहन अनुदान पाएका छन् । कृषकले गरेको उत्पादन र कृषि कर्म गर्दै आईरहेको जग्गा (क्षेत्रफल) लगायतलाई आधार बनाएर अनुदान दिईएको अर्यालले बताए । आर्थिक बर्ष २०८१-८२ मा ३० लाख प्रोत्साहन अनुदान दिईएको अर्यालले बताए । यो अवधीमा विभिन्न विधामा गरी तीन सय ११ जनाले प्रोत्साहनमा आधारित अनुदान पाएका हुन् ।
वालिङ नगरपालिकाले ‘उत्पादन,क्षेत्रफल तथा बिक्री वितरणमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि,२०८१’ नै बनाएर अनुदान दिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । सुन्तला,कफी कागती तरकारी लगायतमा अनुदान दिईएको उनको भनाइ छ । उनले भने, “भएको उत्पादन,काम गर्ने क्षेत्र र कृषकले गरेको प्रगतीका आधारमा अनुदान दिईने भएकाले कृषक उत्साहित छन् ।” प्रोत्साहन अनुदानले उत्पादन बढाउन सहयोग पुर्याउने सुवेदीले बताए ।
नगरपालिकाका १४ वटै वडाका कृषकहरुलाई आफूले गरिरहेको कामको विवरण सहित सूचीकृत हुनका लागि सूचना प्रकाशन गरिएको जानकारी गराउँनु हुँदै नगरप्रमुख कृष्ण खांणले सूचीकृत भएका कृषकहरूको स्थलगत अनुगमनद्वारा प्रमाणीकरण भइसकेपछि मात्रै अनुदान रकम उपलब्ध गराउने गरिएको बताए ।
कृषकलाई उत्पादनमा जोड्ने र आम्दानी बृद्धि गराउने योजनाका साथ प्रोत्साहन अनुदान दिईएको उनको भनाई छ । निर्वाहमूखी कृषि खेतीबाट व्यावसायिक बनाउँदै आर्थिक रुपमा सवल बनाउने योजना पालिकाको रहेको उनको भनाइ छ ।
पालिकाले एकै बाली कम्तीमा दुई रोपनीमा गरेको, फलफूल ३० बोटबाट उत्पादन दिएको मौरीका कम्तीमा १५ घार भएको लगायतका मापदण्डका आधारमा प्रोत्साहन अनुदान दिएको उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिए । रासस




प्रतिक्रिया