काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले माओवादी जनयुद्ध, जनआन्दोलन र आन्दोलनबाट आएको पार्टी भएकोले विचार र राजनीतिलाई केन्द्रमा राखेर हिँडेको बताएका छन् । उनले माओवादीले विचार र राजनीतिलाई केन्द्रमा राखेर विधि, पद्धती र आन्दोलन सञ्चालन गरिरहेको दाबी गरे । नेकपा (माओवादी केन्द्र) को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले माओवादीले विशुद्ध नोकरशाही संगठनात्मक ढंगलाई मात्रै विश्वास नगर्ने बताए । तर, पार्टीमा नेतृत्वको बारेमा जथाभावी बोल्ने र नेतृत्वको खण्डन गर्ने काम पनि भएको भन्दै आलोचना गरे । उनले भने,‘पार्टीको मूल स्पिरिटलाई दुरुपयोग पनि गरिएको छ । आफूखुशी जहाँ पायो त्यहीँ बोलिदिने, नेतृत्वको बारेमा खण्डन गर्ने, पार्टीबारे बोल्ने, आफ्नो सहयोद्धाबारे जे पनि बोलिदिने, जे पनि टिप्पणी गरिदिने, पार्टीको स्विकृत कार्यदिशाविपरित पनि बोलिदिने काम भएको छ। आफ्नो कुरा हिँड्दै जानेजस्ता समस्या देखिन्छ । माओवादी आन्दोलन स्वयमसेवी आन्दोलन हो । विचार, राजनीति र कार्यशैली मिल्नेहरु सँगै रहेर देश र जनताको हितमा काम गर्ने आन्दोलन हो, यसलाई नै आधार मानेर बहस र छलफल चलाउनुपर्छ ।’
सकेसम्म माओवादीले आत्मअनुशासन स्वेच्छिक केन्द्रित हुनेमा बढि जोड दिएको उनको भनाई छ । पार्टीले उचाईं लिइरहेको बेलामा यस्ताखाले विवाद किन देखिएको भन्ने प्रश्नमा उनले दुई कारण सुनाए ।
उनले भने,‘तपाईं असाध्यै जित्नुभयो भने पनि हौसिएर आफ्नो धरातल छोड्ने, आँफैलाई केन्द्रित ठान्ने र अब कोही पनि छैनजस्तो विचलन आउँछ । त्यसलाई हामी वामविचलन भन्छौं । अर्को भनेको हार्दा चाहीँ भागदौड हुन्छ । अपझस अर्को टाउकोमा हाल्ने काम हुन्छ । त्यसलाई हामी दक्षिणपन्थी विचलन भन्छौं । या आत्मसमर्पणवादी विचलन भन्छौं । केही समय पहिलेदेखि नै विचलन, पार्टी तेस्रो भयो, अलिक सानो भयो भनेर नै विचलनहरु भए, ठूलो पार्टी खोज्ने, मेहनत नै नगरी चुनाव जित्ने, ठूलो समूहबाट स्वार्थ लिने प्रवृत्ति नदेखिएको होईन ।’
माओवादी १८ महिना पछिल्लो समय सरकारको नेतृत्व लिएको र सरकारबाट बाहिरिएपछि पनि सशक्त प्रतिपक्षीको भूमिका खेलेको बताए । पछिल्लो समय सरकारमा १८ महिनामा सरकार सफल भएको उनको दाबी छ । माओवादी आन्दोलनलाई सर्भिसिङ गर्ने काम अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु भएको र यो अभियान सफल भएको पनि उनको दाबी छ । उनले आन्दोलन र नेतृत्व सफल हुँदा अर्को कोणबाट प्रहार भएको र विचलन देखिएको सुनाए । माओवादी आन्दोलन र नेतृत्व (प्रचण्ड) सफल भएपछि बाहिरबाट प्रहार गरिएको र फुट गराउने प्रयत्न भएको पुनको टिप्पणी छ । पार्टीभित्र देखिएको प्रवृत्तिको बारेमा भित्रै संघर्ष गर्ने उनको घोषणा छ । उनले भने,‘पार्टीभित्र देखिएको संघर्षको बारेमा भित्रै बहस, छलफल र रुपान्तरणको कोशिस गर्छों । तर, पार्टीबाहिरबाट हुने आक्रमणलाई हामी पार्टीलाई एकताबद्ध गरेर हामी सामना गर्छौं । हाम्रो कमजोरी स्विकारेर जनताको बीचमा जान हामी तयार छौं ।’




प्रतिक्रिया