प्रचण्ड नेताहरुको पनि नेता हुनुहुन्छ, जनार्दनहरु त सहयोगीमात्रै हुन्ः कुशल (भिडिओसहित)


काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरुको पनि नेता रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेता प्रचण्डको सहयोगीमात्रै रहेको बताएका हुन् । उनले प्रचण्ड माओवादीको मात्रै नेता नभएर सिंगो राष्ट्रिय राजनीतिलाई हाँक्ने नेताको रुपमा व्याख्या गरे ।

‘तपाईँले नाम लिनुभएका सबै नेताहरु आदरनिय व्यक्तित्व हुनुहुन्छ । ठूलो आन्दोलन, परिवर्तनका लागि उहाँहरुको भूमिका उल्लेखनीय छ । तर, अध्यक्ष कमरेड प्रचण्ड उहाँहरुको पनि नेता हो । नेताको पनि नेता नेतृत्व । त्यसकारण नेतृत्व र नेता भन्ने कुराको फरक पाटाहरु छन् । उहाँको वरिपरी सहयोगीको रुपमा रहने अरु नेताहरुको भूमिका महत्वपूर्ण हुन्छ,’– उनले भने ।

साथै, उनले अहिले बाहिर आएको जस्तो प्रचण्ड र जनार्दनबीचमा विवाद नरहेको पनिउनले बताए । जनार्दनले पार्टी फुटाउने भन्दा पनि मजबुद बनाउनका लागि आफूलेलाई मजबुद बनाउनका लागि फरक मत राखेको बताउँदै आएको पनि उनले सुनाए ।

नेता श्रेष्ठले नेपालको समकालीन राजनीतिको नेतृत्वको विषयमा प्रचण्ड बराबरीको नेता कोही पनि नरहेको बताए । राष्ट्रिय राजनीतिमा विचार, राजनीतिक कार्यदिशा, राजनीतिक कार्यक्रम र सुशासनलाई स्थापित गर्ने दृष्टिकोणले प्रचण्डभन्दा अग्रगामी नेता अर्को कोही पनि नरहेको उनको भनाइ छ ।