निजामती सेवा विधेयकको कुलिङ पिरियडमा एमालेको नियत खराब देखियोः कांग्रेस नेता खतिवडा


काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा नेकपा (एमाले) का सांसदहरुको नियत खराब देखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधिसभामा सर्वसम्मत रुपमा पारित भएको विधेयक राष्ट्रिय सभामा पुगेर एमालेका सांसदहरुले आवश्यक छैन भनेर प्रस्ताव दर्ता गराएको बताएका हुन् ।

‘राष्ट्रिय सभामा गएर एमालेको समग्र पार्टीपंत्ति नै, प्रमुख सचेतक भनेको संसदको नेता पछाडिको ठूलो हो । राष्ट्रिय सभामा एमालेको सबै सांसदहरुले यो कुलिङ पिरियड आवश्यक छैन भनेर जुन प्रस्ताव दर्ता गर्नुभयो । त्यसबाट अलिकति नियत खराब भएको देखिन्छ । प्रतिनिधिसभामा सर्वसम्मत पास गर्ने, मास्तिर गएर चाहिँ हुँदैन भन्नु यो अलिकति मिलेन,’– उनले भने ।

साथै, कुलिङ अफ पिरियडको सन्दर्भमा प्रतिनिधिसभाबाट पारित कुनै क्रममा भएको छेडखानीमा निजामती कर्मचारीको बदमासी रहेको हुन सक्ने उनले आशंका व्यक्त गरे । मुख्यसचिव र सचिवहरु अझै पनि कुलिङ पिरियड राखिन हुँदैन भन्ने पक्षमै रहेको उनको भनाइ छ । ‘निजामति कर्मचारीहरु आफू कुलिङ पिरियड चाहने पक्षमा थिएनन् । अहिले पनि धेरै सचिवज्यूहरु राख्नै हुँदैन भन्ने पक्षमा हुनुहुन्छ,’– उनले भने । File Photo/RN