बहादुरसिंहको दाबीः मुख्यमन्त्री हुन संसदीय दलको नेता नै हुनुपर्छ भन्ने आवश्यक छैन


काठमाडौं, १३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संसदीय दलको नेता नहुँदैमा मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताएका छन् । आज (मंगलबार) संसदीय दलको बैठकमा अविश्वासका प्रस्ताव पारित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै हुनुपर्छ भन्ने आवश्यकता नरहेको बताए ।

मुख्यमन्त्री तामाङले पदबाट राजीनामा नदिने बताए । उनले आफूलाई मुख्यमन्त्रीबाट कसैले हटाउन नसक्ने दाबी गरे । उनले सरकार र दल फरक–फरक कुरा रहेको बताए । ‘मुख्यमन्त्री हुन् । संसदीय दलको नेताह हुन आवश्यक छैन । मैले कसरी राजीनामा दिने ?’ प्रश्न गर्दै उनले भने ।

मुख्यमन्त्री तामाङले आफूले अहिले गठबन्धनको सरकारको नेतृत्व गरिरहेकाले त्यसका लागि दलको नेता हुनैपर्ने अनिवार्य नरहेको बताए । तामाङलाई संसदीय दलका नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज (मंगलबार) बसेको संसदीय दलका बैठकले तामाङविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो ।