विद्या भण्डारीको राजनीतिक सक्रियताबारे कान्छी छोरी निशाकुसुमको रहस्यमय मौनता


काठमाडौं, १३ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने घोषणाले चर्चामा छिन् । उनले यो बीचमा टिभी अन्तर्वार्तादेखिा सार्वजनिक पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा अघि बढिसकेकोले अब ब्याक नहुने स्पष्ट पारेकी छिन् । गत असार १४ गते मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको विशेष कार्यक्रममार्फत उनले आफूले एमालेको पार्टी सदस्यता नवीकरण गरिसकेको र देशको सेवा गर्न अघि बढेको घोषणा गरेकी थिईन् । त्यो कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी थिए ।

ओली बोलेर हिँडेपछिमात्रै विद्याले सम्बोधन गरेकी थिईन् । विद्याको एमालेमा सक्रिय हुने घोषणाले ओली भर्सेस भण्डारीको कित्ताकाट गरेको थियो । सचिवालय, पोलिटब्यूरो हुँदै केन्द्रीय कमिटीसम्म आईपुग्दा एमालेले विद्यालाई एमालेमा स्वागत गर्नुको साटो राजनीतिमा नै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटीको निर्णयबाट असन्तुष्ट विद्याले हालै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेकी थिईन् । उनले एमालेमा आफ्नो पार्टी सदस्यता ४५ वर्ष भैसकेकाले अहिले पनि सदस्यता कसैले खोस्न नसक्ने चूनौति दिईन् ।

उनी छिट्टै विशेष कार्यक्रम लिएर जिल्ला जिल्ला जाने तयारीमा छिन् । विद्या भण्डारीका दुई छोरीहरु उषाकिरण र निशाकुसुम हुन् । उषाधिकरण अहिले मदन भण्डारी फाण्डेशनको अध्यक्षको जिम्मेवारीमा छिन् । उनले आमालाई राजनीतिमा आउने विषयलाई स्वागत गर्दै समर्थन गरेकी छिन् । आमाको पार्टी सदस्यता खारेज गरेपछि सामाजिक सञ्जालमार्फत उनले आफ्नो असन्तुष्टिसमेत पोखेकी थिईन् । तर, कान्छी छोरी निशाकुसुमले भने अहिलेसम्म आमाको राजनीतिमा सक्रिय हुने घोषणालाई लिएर साथ दिएको र सार्वजनिक रुपमा स्वागत गरेको पाईँदैन् ।

उनी आमा एमालेमा सक्रिय हुने घोषणाबारे जानकार छिन् । तर, प्रतिक्रियाविहीन छिन् । उनको मौनता रहस्यमयी रहेको चर्चा अहिले भण्डारी पक्षधरबीच नै हुन थालेको छ । निशाकुसुम प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग निकट रहेको चर्चा छ । तर, उनले सार्वजनिक रुपमा आफ्नो धारणा नदिएसम्म यसै भन्न सकिने अवस्था नभएको एमालेनिकट उच्चस्रोतको दाबी छ ।