पार्टी अनुशासन समितिको कारबाही फिर्ता हुनुपर्छः कांग्रेस नेता पाण्डे


काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता दयाराम पाण्डेले पार्टीमा विपी कोइरालाको विचार र सिद्धान्त तुहिँदै गएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित नेतालाई मिलिजुली खानमा लागि कांग्रेसले विपीको विचार छाडेर च्ुनावमा गठबन्धन हुने गरेको बताएका हुन् ।

‘विपी बाबुको सिद्धान्त, विचार जुन रुपले नेपाली कांग्रेस २००३ सालमा स्थापना भएको थियो, अहिले तुहिँदै गएर यो अवस्थामा आएको छ । अहिले चुनावमा जाँदा पनि गठबन्धन गरेर जाने, चुनावमा जाँदा हाम्रो नजिकको मित्र यो, टाढाको मित्र त्यो, त्यो पनि छैन । गठबन्धन गरियो, गइयो । पार्टीले निर्णय गर्यो । हामीले भोट हाल्यौं । के को लागि भन्दा सीमित नेताहरुलाई मिलिजुली खानको लागि,’– उनले भने ।

साथै, उनले अहिले कांग्रेस कांग्रेसको रुपमा नरहेको बताए । आफू २०३७ सालदेखि भावनात्मक रुपले कांग्रेसमा लागेको भए पनि अहिले कांग्रेस हुँ भन्दा गर्व गर्ने ठाउँ नरहेको बताए । ‘अब हामीले त्यो कुरालाई यो ठीक, यो बेठीक भनेर छुट्याउने बेला आएको छ । नेपाली कांग्रेस अहिले कांग्रेसको रुपमा छैन । म २०३७ सालदेखि भावनात्मक रुपले लागेको नेपाली कांग्रेस अहिले मलाई नेपाली कांग्रेस भनेर भन्न पनि लाज लागेको छ । ०३७ सालदेखि लागेको मान्छे म कहाँ जाउँ ? मलाई यो समस्या छ,’– उनले भने ।

साथै, उनले कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेलामा संविधान संशोधनको एजेण्डा ल्याइए पनि अहिले त्यसबारेमा केही काम नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने बेलामा सात बुँदे सहमतिमा संविधान संशोधनको कुरा ल्याइएको थियो । त्यो अहिले कता हरायो । संविधान संशोधन के का लागि ? किन ? जनताको सामू उहाँहरुले भन्नुपर्यो । संविधान संशोधन गर्दा कांग्रेस र एमालेले मात्रै गरेर हुँदैन,’– उनले भने ।

प्रधानमन्त्री बाँडेर खाने, बाँडेर सरकार चलाउने कार्यका लागि संविधान संशोधन हुन नहुने उनले बताए । साथै, उनले कांग्रेस अनुशासन समितिले नेताहरुमाथि गरेको अनुशासनको कारबाही फिर्ता हुनुपर्ने बताए ।

‘म नेपाली कांग्रेसको मान्छे । शेखर पक्षको पनि होइन, संस्थापन पक्षको पनि होइन । म नेपाली कांग्रेस, विपी पक्षको मान्छे । नेपाली कांग्रेसका कार्यकर्ता, अगुवाहरुलाई अस्ती भर्खरै कारबाही गरिएको छ । जसरी कारबाही गरिएको थियो, त्यो कारबाही त्यसरी नै फिर्ता लिन म अनुरोध गर्न चाहन्छु । तपाईँहरुले बेमौसमको बाजा बनाउनु भएको छ,’– उनले भने ।