युवा संघ विभाजित : झलनाथ, घनश्याम निकटको युवा भेला भोली, प्रमुख अतिथि रामकुमारी झाँक्री


काठमाडौं, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल दुई चिरामा विभाजित भएको छ ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल समूह निकटको युवा संघले बुधबार काठमाडौंमा छुटै भेला गर्दैछ । काठमाडौं उपत्यका स्तरीय हुन लागेको भेलाको संयोजन युवा संघका सहसंयोजक संजीप राईले गर्दैछन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निकटको युवा संघका संयोजक रोशन थापा समूहले र राई समूहका बीचमा संघभित्र लामो समयदेखी विवाद रहेको छ । पार्टी अध्यक्ष नेपालले संघ भित्रको समस्या समाधान गर्न चासो नदिएको भन्दै खनाल र भुषाल निकटका युवाले छुटै भेला गर्न लागेका हुन् ।

पार्टीमा युवा संघ, विद्यार्थी संगठन अखिललाई लिएर विवाद चर्किदै गएको छ । अखिलमा पनि समान्तर कमिटी रहेको छ । युवा संघको विवाद पार्टीले समाधान गर्न चासो नदिएपछि अब छुटै कमिटी गठन र घोषणा अघि काठमाडौं उपत्यका स्तरी भेला गर्न थालिएको हो ।

अब अन्य प्रदेश र जिल्ला–जिल्लामा समेत युवा संघको समानान्तर कमिटी गठन गर्दै अगाडी बढने रणनीतिमा राई समूहको युवा संघ रहेको छ । राई समूहले भेला गर्न लागेको संघ काठमाडौं उपत्यका स्तरीय भेलाको प्रमुख अतिथि एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्री रहेकी छन् ।
बुधबार अनामनगरको तमु बौद्ध भवनमा सो भेला हुदैछ ।