हाम्रो हातमा देशको शासन आयो भने यो मुलुक लुट्नेहरुको सात पुस्तालाई छोड्दैनौं : चन्द्र भण्डारी (भिडिओ सहित)


काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले देशको शासन आफूहरुको हातमा आयो भने मुलुक लुट्नेहरु र उनीहरुको सात पुस्तालाई समेत नछोड्ने उद्घोष गरेका छन् । उनले आफू नेपालको प्रधानमन्त्री बने हिजो मुलुक लुट्नेहरुलाई पनि नछोड्ने चेतावनी दिएका हुन् । उनले मुलुक लुट्ने कामभन्दा ठूलो अपराध केही पनि नभएको बताए ।

उनले अहिले नेपाली कांग्रेसको बाग्मती प्रदेशमा भएको झगडा, द्धन्द्धले आफू दुःखी भएको बताएका छन् । उनले भने,”नेपाली कांग्रेसले आफूलाई अप्ठ्यारो परेपनि, अपमानित भएपनि यसले एउटा नजिर बसाल्नुपर्छ । अहिले नेपालका सबै राजनीतिक दलहरुमा विवाद भएको बेलामा फरक धारले जानुपर्दथ्यो । मेरो सभापतिजीसँग कुरा नभएकोले धेरै भन्न सक्दिनँ । तर, जे भयो विगतदेखि नै मलाई राम्रो लागेको छैन । यो बाटोले विनाशभन्दा अरु केही पनि निम्त्याउँदैन ।”

भण्डारीले कांग्रेसमा अहिले विगतभन्दा गुट कमजोर भएको दाबी गरे । आज (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पहिलाजस्तो चर्काचर्की अहिले पार्टीभित्र नभएको स्पष्ट पारेका हुन् ।

उनले डा. शेखर कोइरालाले पार्टीभित्र आफ्नो समूहका साथीहरुलाई समेटेर लैजानुपर्ने सुझाव दिए । उनले अहिले कांग्रेसमा संसदीय दलको नेता परिवर्तन गर्नको लागि तयारी नभएको र आफूले कहीँ कतै हस्ताक्षर नगरेको जिकिर गरे । पत्रकार धमलाले उसो भए नेपाली कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुँदैन ? भनेर सोधेको प्रश्नमा उनले भने-“मैले कहीँपनि हस्ताक्षर गरेको छैन । मलाई हस्ताक्षर गर भनेर कसैले भनेको पनि छैन । म यो काममा लागेको पनि छैन । मेरो समूहले र साथीहरुले सल्लाह गरेर, गर्नैपर्यो भनेपनि मेरो आदरणीय सभापति देउवाजीसँग सल्लाह गरेर गर्छौं नि ।”

उनले आफ्नो पुस्ता अहिले स्याण्डविचजस्तो भएको भन्दै देशलाई निकास दिनको लागि नेतृत्व दिन तयार रहेको बताए । उनले कांग्रेस र माओवादी मिलेर चुनाव लडेको भन्दै पाँच नै सरकार चलाउनुपर्नेमा त्यसो नगरेर जनतामाथि चिट गरेको टिप्पणी गरे । उनले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन टुट्न नहुने थियो भन्ने धारणा राखे ।

उनले अहिलेको कांग्रेस र एमालेको गठबन्धन गलत भएको धारणा राखे । उनल अहिलेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनताले चाहेअनुसार भाषणा गरेको तर काम गर्न नसकेको आरोप लगाए । उनले भने-“यसले सुशासन पनि दिन सकने । यो पारदर्शी पनि हुन सकेन । यति दुई वटा कुरा भन्छु । कुनैपनि यस्तो एउटा ठाउँ छैन, तलदेखि माथिसम्म नबिग्रिएको, घुस नखाने कोही छँदै छैनन्, कोही पनि पारदर्शी बन्न चाहँदैन ।”