रास्वपाका सांसदहरु रुपन्देही पुगे, सभापति लामिछानेसँगको भेटपछि संसदीय दलको बैठक


काठमाडौं, १३ साउन । रास्वपाका सांसदहरु रुपन्देही पुगेका छन् । भोलि (बुधबार) रुपन्देहीमा नै रास्वपाको संसदीय दलको बैठक बस्ने भएको हो । सो बैठकका लागि आज नै सो दलका सांसदहरु त्यहाँ पुगेका हुन् ।

सांसद निशा डाँडीले रुपन्देही पुगेको जानकारी फेशबुकमार्फत दिएकी छिन् । पार्टीका सभापति रवि लामिछाने यतिवेला रुपन्देहीमा जेलमा छन् । पार्टी सभापति लामिछानेसँग भेट्ने र त्यही जिल्लामा दलको बैठक बस्नेगरि उनीहरु आज त्यहाँ पुगेका हुन् ।

संसदीय दलको सो बैठकमा आगामी कार्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको उम्मेद्वार पनि तय गर्ने बुझिएको छ । केन्द्रमा संसद्मा रास्वपा यतिवेला आन्दोलित छ । रास्वपा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आन्दोलित छ । अहिले संसद् बैठकमा रास्वपाको दैनिकी बैठकमा भाग लिने, उठ्ने र आफ्नो भनाई राख्ने र बहिष्कार गर्ने बनेको छ ।