काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता राजन केसीले बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नरहेको व्यक्ति प्रधानमन्त्री, मुख्यमन्त्री हुन नपाउने बताएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ को अभ्यासमा भने सांसदमात्रै रहेको व्यक्तिले बहुमत पुर्याए पनि हुने प्रष्ट रहेको उनले बताए ।
‘नेपाली कांग्रेसको विधानमा प्रष्ट संसदीय दलको नेता नै प्रधानमन्त्री हुने हो केन्द्रमा । संसदीय दलको नेता नै बहुमत पुगेको अवस्थामा मुख्यमन्त्री हुने हो । त्यसमा दुईमत छैन । संविधानको प्रक्रियामा उपधार ५ सम्म जाँदाखेरी चाहिँ कुनै पनि सांसदले म बहुमत पुर्याउँछु भनेर बहुमत पुर्याए पनि बन्न सक्छ । तर, त्यो प्रक्रियामा अहिले छैन । जो संसदीय दलको नेता हुन्छ, उहाँले बहुमत पुर्याएर जानुहुन्छ । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्छ । त्यसमा के दुईमत छ र ?’ प्रश्न गर्दै उनले भने ।
केसीलाई कांग्रेसले बागमतीमा पर्यवेक्षक बनाएर पठाएको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेसले बागमतीमा आज चुनाव गराउँदै छ । संसदीय दलको नेतामा ईन्द्र्र बानियाँ र बहादुरसिंह लामा तामाङले प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । कूल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका नेता चयन हुनका लागि कम्तिमा १९ सांसदको समर्थन आवश्यक छ ।




प्रतिक्रिया