कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि आज गोप्य मतदान हुने


काठमाडौं, १४ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनको लागि आज गोप्य निर्वाचन हुने भएको छ । संसदीय दलको निर्वाचनका लागि कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ ।

आज बिहानदेखि नै निर्वाचनको कार्यक्रम सुरु भएको छ । दिउँसो २ देखि ३ बजेसम्म मतादान हुने बताइएको छ । कांग्रेस केन्द्रबाट पर्यवेक्षक तोकिएका राजन केसीले संसदीय दलको नेतामा ईन्द्र बानियाँ र बहादुर सिंह लामाबीच नै प्रतिस्पर्धा हुने सम्भावना रहेको उनले बताए ।

‘गोप्य मतदानद्वारा निर्वाचन हुन्छ । अब को उठ्नुहुन्छ ? मेरो विचारमा सहमति हुँदैन । ईन्द्रबहादुर बानियाँ उठ्ने भन्ने मैले सुनेको छु । उहाँकै पहलमा अविश्वासको प्रस्ताव राखिएको हो । अब यता बहादुरजी उठ्नुहुन्छ कि ? भर्खर अविश्वासको प्रस्तावबाट हटाइएको हुनाले म उठ्दिन भनेर अरु उठ्नुहुन्छ कि ? ३७ जना मध्ये प्रतिस्पर्धा हुने देखियो,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।