क्षेत्राधिकार बाहिर गएर अख्तियारले माधव नेपालविरुद्ध मुद्दा चलायोः सोमप्रसाद पाण्डे


काठमाडौं, १४ साउन । नेकपा (एकीकृत समाजवादी) का सचिव एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतिपय मुद्दामा प्रतिशोध राखेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एक प्रकृतिका मुद्दामा कसैलाई उन्मुक्ति र कसैलाई सजायको माग राखेर मुद्दा दर्ता गराइएको बताएका हुन् ।

‘चाहे तपाईँ टेरामक्समा पुग्नुस्, चाहे वाइटवडीमा पुग्नुस् । चाहे अरुखालका जे मुद्दाहरु अख्तियारले चलाएको छ, ती सबैमा पुग्दाखेरी कसैलाई उन्मुक्ति, कसैलाई सजायको निम्ति माग यो देख्दाखेरी त्यहीबाट संका उठेको छ । अब अख्तियारलाई मैले सिधै आरोप लगाउन चाहन्नँ । तर, घटनाक्रम कता–कता नमिलेको पाइन्छ । कसैलाई उन्मुक्ति कसैलाई त्यही प्रकृतिको मुद्दामा सजाय किन भन्ने प्रश्न उठेको छ,’– उनले भने ।

साथै, पतञ्जली योग पीठ जग्गा प्रकरणमा पनि अख्तियारले क्षेत्राधिकार बाहिर गएर माधव कुमार नेपालविरुद्ध मुद्दा दर्ता गराएको उनको भनाइ छ । पतञ्जली जग्गा प्रकरणमा २०६८ सालमै कानुनी रुपमा मुद्दा लगाउनुपर्ने कुनै कारण देखिएन भनेको उनले बताए । उनले भने, ‘पतञ्जलीको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको परिच्छेद २ को ४ (ख) ले जे अधिकार प्रत्यायोजन गरेको छ, संविधानको धारा ८२ को जुन व्यवस्था छ, संविधानको धारा २३९ को जे व्यवस्था छ अख्तियारलाई, त्यो नाघ्यो कि भन्ने कुरा आएको छ ।’