शिव घिमिरेको कत्था र ग्यास उद्योगको ज्यादतीविरुद्ध स्थानीयहरू आन्दोलित


काठमाडौं। शिवप्रसाद घिमिरेको कत्था उद्योग र ग्यास उद्योगको ज्यादतीविरुद्ध स्थानीयहरू आन्दोलित भएका छन्। घिमिरेको दुई उद्योगले हानिकारक रसायन (केमिकल) जथाभावी मिल्काएर वातावरण प्रदूषित गरेको भन्दै त्यसलाई रोक्न माग राख्दै स्थानीयहरू आन्दोलित भएका हुन्।

घिमिरेको कत्था उद्योगले वातावरण प्रदूषण मात्र होइन जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै कानुनी उपचार र समस्याको दीर्घकालीन समाधानको माग राखेर आन्दोलनमा उत्रिएका हुन्।

पूर्व(पश्चिम राजमार्ग अन्तर्गतको ईनरूवा ईटहरी सडक खण्डमा पर्ने सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ मा तित्रीवनमा रहेको कत्था उद्योग (फ्याक्ट्री) र कामाख्या (सुगम) ग्यास उद्योगबाट हानिकार पदार्थ पानीमा मिसाउने गरेको भन्दै स्थानीयहरू उद्योग घेर्न पुगेका छन्। पटकपटक आग्रह गर्दा पनि उद्योगले ज्यादती गरेको उनीहरूको आरोप छ।

हानिकारक तरल पदार्थ नालीबाट आफूहरूको खेत(खेतमा पठाइएको आन्दोलित स्थानीयहरू बताउँछन्। खेतमा विषाक्त पदार्थ हालेर बाली नष्ट गरेको, वातावरण प्रदूषित बनाएको र गाईबस्तुले खादा पनि असर गरेको आन्दोलनमा उत्रिएका स्थानीयहरूको भनाइ छ। हरेक किसिमले असर परेकाले स्थानीय किसानहरू घिमिरेको उद्योगको ज्यादतीविरुद्ध स्थानीयहरू आन्दोलनमा होमिएका हुन्।

मुसाले खोलेको भनेर पौनीबाटै हानिकारक पदार्थ खेत र पानीमा पठाइएको स्थानीयहरूको दाबी छ। कत्था उद्योगले लापरबाही गरेर दुर्गन्धित पदार्थ जथाभावी फ्याल्दा बाटो हिँड्दा समेत नाक छोप्नु पर्ने बाध्यता आइपरेको भन्दै स्थानीयहरूले उक्त उद्योगमाथि हदैसम्मको कारबाही गर्न माग राखेका छन्।

कत्थाको केमिकल सिंचाइका लागि लगिएको पानीमा मिसाइएको भन्दै सयौंको संख्यामा उक्त उद्योग घेर्न पुगेका हुन्। घिमिरेको कत्था उद्योगबाट निस्किएको हानिकारक रासायनिक पदार्थका कारण करिब ३ सय घरधुरी प्रभावित भएका छन्।

पैसाका बलमा कत्था र ग्यास उद्योगले सिंगो समाज बस्तीमाथि अत्याचार गरेको भन्दै आन्दोलनरत स्थानीयहरू आक्रोशित भएका छन् । कुनै बेला सुगम ग्यासको फुटरिङ काटेर चर्चामा आएका घिमिरेको उद्योगले फेरि जनस्वास्थ्यका दृष्टिकोणले घातक मानिएको केमिकल जथाभावी मिल्काएर विवादमा परेका हुन्।