मनास्लु वर्ल्ड कलेजका विद्यार्थीहरुलाई ऋषि धमलाको टिप्स : किताबी किरोमात्रै होईन बाहिरी ज्ञानपनि हासिल गर्नुहोस (भिडिओ सहित)


काठमाडौं, १४ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले संसारमा असम्भव भन्ने कुरा केहीपनि नभएको बताएका छन् । आज (बुधबार) राष्ट्रियसभा गृहमा मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि आयोजना गरेको ओरिएटेन्शन कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले विश्व बदल्ने नै मानव जातिले भन्दै नेपालका युवा पुस्ताले पनि देशको आमूल परिवर्तनको लागि योगदान गर्नसक्ने बताएका हुन ।

उनले विद्यार्थीहरु देशको भविष्य भएको भन्दै लगनशील बनेर पढाईमा लाग्न पनि सुझाव दिए । उनले नेपालको शिक्षा क्षेत्रमा आशा, विश्वास र भरोसा जागेको सुनाए । शैक्षिक क्षेत्रमा मनास्लु कलेजले खेलेको भूमिका अतुलनीय भएको भन्दै यो कलेज सबै विद्यार्थीहरुको पहिलो र साझा रोजाई बनेको पनि धमलाले बताए ।

धमलाले देश बनाउने जिम्मेवारी अब युवा पुस्ताको हातमा जानुपर्ने मत राखे । उच्च शिक्षा सुरु गर्न लागेका विद्यार्थीहरुलाई जीवन सिकाईको क्रममा महत्वकांक्षी बन्ने प्रेरणा दिए । तर, महत्वकांक्षा राख्दा त्यसको सिमा ख्याल गर्न उनले सुझाएका छन् । उनले यो कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे ।

उनले भने,‘यो कलेजले शिक्षामा व्यापार नभएर सामाजिक उत्तरदायित्व बहन गरेको छ।’ उनले हरेक सफल मान्छेको पछाडि उसले गरेको त्याग, तपस्या र मेहनत प्रधान कुरा भएको बताए । उनले विद्यार्थीहरुलाई पाठ्यक्रमको ज्ञानमात्रै नभएर बाहिरी ज्ञानपनि हासिल गर्न सुझाव दिए ।