काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) मा पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजनको बिउ रोपेको भन्दै आलोचनासमेत हुने गरेको छ । उपमहासचिव शर्माले पुष्पलाल स्मृति दिवसको अवसरमा ‘मनमोहनपछिको सबै कम्युष्टि प्रधानमन्त्रीहरु असुली धन्दामा लागे’ भनी दिएको अभिव्यक्तिले पार्टीको आन्तरिक विवादमा मलजल गरेको छ ।
उपमहासचिव शर्माको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सांसद लेखनाथ दाहालले प्रष्टीकरण मागेका छन् । प्रष्टीकरणका क्रममा उपमहासचिव शर्माले आफूले मनमोहनपछि एमालेबाट प्रधानमन्त्री बनेका सबै कम्युनिष्ट नेताहरु असुली धन्दामा लागे भनेको र यसमा प्रचण्डलाई जोड्नुपर्ने आवश्यकता नरहेको बताएको उनले सुनाए ।
‘उहाँको तर्क छ, मैले पनि सुने, तपाईँले के बोल्न खोज्नुभएको भन्दाखेरी–मैले मनमोहनपछि सबै असुली धन्दामा लागे भनेको त मनमोहनको पार्टी लागेको हो । माओवादीलाई मैले कहीँ आक्षेप लगाएको छ ? प्रचण्डलाई लगाएको छ ? तपाईँले फेरि सुन्नुस् भन्नुभयो । मनमोहनपछि सबै नेताहरु असुली धन्दामा लागे भनेपछि त मनमोहनको पार्टी एमाले । एमालेका नेताहरुलाई असुली धन्दामा लागे भनेको । तपाईँले प्रचण्डसँग किन जोड्नुहुन्छ भनेर उहाँले मलाई प्रष्टीकरण दिनुभयो,’– नेता दाहालले भने ।
साथै, नेता दाहालले जनार्दन र पार्टी अध्यक्ष प्रचण्डको समकक्षी र प्रतिस्पर्धीको रुपमा हेर्न नसकिने बताए । उनले जनार्दनलाई कार्यकर्ताको संज्ञा दिए । पार्टी अध्यक्ष प्रचण्डसँग प्रतिस्पर्धा गर्न मन भए आगामी महाधिवेशनमा ढ्वाङ थाप्नसमेत उनले जनार्दनलाई सुझाव दिए ।
‘अर्को महाधिवेशन आउँदैछ, ढ्वाङ थापे भइहाल्यो नि । हरेक पार्टीको कार्यकर्ता स्वतन्त्र छ । अध्यक्ष बन्न अधिवेशन चाहिएला नि । मन लागेपछि बन्ने हुन्छ र ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया