काठमाडौं, १४ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे सहमतिलाई दबाबको हतियार बनाउने कुरा नसोच्न चेतावनी दिएका छन् । उनले सरकारले तीन बुँदे सहमतिको इमानदारितापूर्वक पालना गर्नुपर्ने माग गरे ।
आज (बुधबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने-“तीन बुँदेलाई दबाबजस्तो नसोच्नुहोस । कृपया के छ भने हामी स्वतन्त्रतापूर्वक सोच्ने मानिस हौं ।” उनले कोही पनि थांग्नामा नसुत्ने भन्दै भ्रम नपाल्न चेतावनी दिए ।
तीन बुँदे कार्यान्वयन नगरे त्यो राजनीतिक बेईमानी हुने भन्दै नेपाली जनताले त्यो कुरा बुझिरहेको विप्लवको तर्क छ । तर, आफूहरुलाई त्यो सह्य नभएको उनको चेतावनी छ । उनले सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु केही जुट्न बाँकी रहेको बताए ।
उनले पार्टीका प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड एमालेमा प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो रहेको स्पष्ट पारे । उनले आजको दिनमा नेकपामा जस्तो एकता र अनुशासन अरु कुनैपनि दलमा नभएको दाबी गरे । उनले आफ्नो पार्टीमा साधारण सदस्यदेखि महासचिवसम्मको बुझाईमा समानता र एकरुपता रहेको स्पष्ट पारे । आफ्नो दलमा नीति र नेतृत्वमा कुनै विवाद नभएको चन्दको दाबी छ ।




प्रतिक्रिया