शिक्षा विधेयकको हलो आवधिक बढुवा र शिक्षकहरुले राजनीति गर्न पाउने कुरामा अड्कियो


काठमाडौं, १५ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले संघीय शिक्षा विधेयक सर्वसम्मतीले टुङ्ग्याइने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सम्भवतः उक्त विधेयक समितिबाट आज टुङ्गिने बताए । ‘हिजो हामीहरु बसेको । छलफल भएको छ । अब आज टुङ्गो लाग्छ । आज सहमतिको सम्भावना छ,’– नेता थापाले भने ।

साथै, उनले शिक्षा विधेयकको हलो आवधिक बढुवा र शिक्षकहरुले राजनीति गर्न पाउनुपर्छ भन्ने कुरामा अड्किएको बताए । उनले भने, ‘हलो आवधिक बढुवामा अड्कियो । राजनीति गर्न पाउनुपर्यो भन्ने कुरामा अड्किएको छ ।’

साथै, हेडमास्टरहरुलाई ट्रेड युनियनमा सहभागी हुन दिनुपर्यो भन्ने विषय पनि समितिमा आइरहेको उनले बताए । नेता थापाले प्रधानाध्यापकलाई ट्रेड युनियनमा सहभागी हुन नदिन नसकिने उनले बताए । साथै, उनले अहिले समिति सर्वसम्मत रुपमा अगाडि बढेको बताए । ‘हाम्रो समिति एक मतको साथ अगाडि बढेको छ । हामी अरु कसैको दवाब टेर्दैनौं,’– उनले भने । File Photo/RN