सरकारको एक वर्षको काम बार्गेनिङ गर्ने र रवि लामिछानेलाई थुन्नेबाहेक केही छैनः माओवादी नेता तामाङ


काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ तामाङले कांग्रेस–एमाले गठबन्धन सरकारले एक वर्षभित्र बार्गेनिङ गर्ने र रवि लामिछानेलाई थुन्नेबाहेक अरु केही पनि गर्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनल उही प्रकृतिको मुद्दामा लामिछानेलाई थुनिएको र अरुलाई उन्मुक्ति दिइएको बताएका हुन् । उनले वर्तमान सरकारको दृष्टिकोण पूर्वाग्रही र विरोधाभासपूर्ण रहेको बताए ।

‘अहिलेको सरकारको सबैभन्दा ठूलो काम बार्गेनिङ हो, रवि लामिछानेलाई थुन्ने हो । रविजस्तै मान्छेहरु सार्वजनिक रुपमा हिँडिरहेका छन् । तर, रविलाई चाहिँ थुन्दिएका छन् । त्यही सहकारीको केसमा अन्य माननीयहरु सभामा आशनग्रहण गरेकै छन् । रवि चाहिँ भित्र छन् भनेपछि यो सरकारको क्रियाकलाप, यो सरकारको दृष्टिकोण पूर्वाग्रही र विरोधाभासबाहेक अरु केही पनि छैन,’– उनले भने ।

साथै, उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले एमालेको काम भ्रष्टाचार गर्ने र तस्करी गर्नेबाहेक अर्को केही नरहेको उनले बताए । ‘अहिले पनि बलराम अधिकारीले नैतिकता छ भने राजीनामा दिनुपर्छ । कमिशन लिएको, कमिशन डिल गरेको, पोखरामा गएर होटलमा पैसा नतिरी खाएको कुरा थाहा छैन र ?’ प्रश्न गर्दै उनले भने ।