ओली-देउवाले चाहनुभयो भने तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुन्छः कांग्रेस नेता घिमिरे


काठमाडौं, १६ साउन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले मन्त्रिपरिषद् पुनर्गठनको बारेका कुनै छलफल नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनबारे कांग्रेसभित्र कुनै छलफल र चर्चा नभएको बताएका हुन् । ‘अहिलेसम्म त्यो विषयमा चर्चा, परिचर्चा केही पनि भएको छैन, पार्टीभित्र कुनै बहस छलफल पनि भएको छैन,’– उनले भने ।

नेता घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाहेको खण्डमा मन्त्रिपरिषद् फेरबदल हुनसक्ने बताए । ‘प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुनबेला चाहनुहुन्छ, त्यो बेला मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ । अब उहाँहरुको बीचमा के कुरा भएको छ ? के सहमति भएको छ ? त्यो कुरा मलाई थाहा छैन । तर, उहाँहरुले चाहनुभयो भने मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ,’– उनले भने ।

साथै, नेपाली कांग्रेसको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने व्यवस्था रहेको उनले बताए । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले केही दिनभित्रमा मार्ग प्रशस्त गर्ने उनले विश्वास व्यक्त गरे ।