आजपा नेतृ साहको प्रधानमन्त्री ओलीलाई चेतावनी : तत्काल राहत प्याकेज नदिए मधेशी जनता चुप लागेर बस्दैनन्


काठमाडौं, १६ साउन । आम जनता पार्टीकी सचिवालय सदस्य रञ्जु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी जनतामाथि खानेपानी नदिएर अन्याय गरेको आरोप लगाएकी छिन् । उनले मधेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको र पाँच सय डिप बोरिङ लगाउने घोषणा गरेको आज १० दिनसम्म बितिसक्दापनि प्रधानमन्त्री ओलीले कुनै ठोस कदम नचालेकोमा यस्तो आक्रोश पोखेकी हुन् ।

उनले खानेपानी नपाएर तड्पिएर बसेका मधेशी जनतामाथि आश्वासनको पोको बाँडेर पीडामाथि झनै पीडा थप्ने काम नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिईन् । उनले मधेश पुगेर प्रधानमन्त्री ओलीले ५ सय वटा डिप बोरिङ लगाउने घोषणा गरेको भएपनि यसबारेमा सम्बन्धित सरकारी निकाय खानेपानी र सिचाईंलाई केही थाहा नभएको भन्दै आक्रोश पोखिन् ।

उनले प्रधानमन्त्री ओलीले विदेशबाट महँगो मिनरल वाटर मगाएर पिउने गरेको तर जनता पिउने पानी नपाएर पीडित बन्नु परेको भन्दै कहिलेसम्म यस्तो विभेद कायम राख्ने भन्दै प्रश्न गरिन् । मधेश सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रदेश र केन्द्र सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही पनि राहत प्याकेज नदिएको भन्दै नेतृ साहले आक्रोश पोखिन् । उनले तत्काल राहत प्याकेज नदिए मधेशी जनता अब चुप लागेर नबस्ने चेतावनी दिईन् । file photo