काठमाडौं, १७ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्लज्ज व्यक्तिहरुको झुण्डको संज्ञा दिएका छन् । उनले रास्वपाले सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको भनेर चलाएको हस्ताक्षर अभियानको पनि आलोचना गरे । उनले रास्वपाले रविले गरेको सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको आरोप लगाए । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि लामिछानेलाई अहिले बाँदर नचाउने काम नगर्न सुझाव दिएका छन् ।
उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगहरुको, भ्रष्टहरुको र अदालतले दण्डित गरेर पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको व्यक्तिको पक्षमा नांगो ढंगले बहस, पैरवी र वकालत गर्दै हिँड्ने निर्लज्ज व्यक्तिहरुको झुण्ड हो । यो झुण्डको बारेमा केही कुरा नगर्नुहोस । अहिले यो झुण्डले सहकारी ठगीमाथि पर्दा हाल्ने कोशिस गरिरहेको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गएर अपचलन भएको रकमको बारेमा, त्यो पैसा फिर्ता गर्नेबारेमा त्यो झुण्ड बचतकर्ताहरुको पक्षमा कहिल्यैपनि उभिँदैन् । निर्लज्जहरुको झुण्डको बारेमा मसँग प्रश्न नगर्नुहोस । मेरो मित्र भएको हिसाले रवि लामिछानेजीलाई भन्न चाहन्छु–अदालतले जुन आदेश दिएको छ, त्यो आदेशको पालना गरेर तपाईं पुर्पक्षमा हुनुहुन्छ, त्यसको विकल्प पनि छैन । बाहिर यो बाँदर नचाउने काम नगर्नुहोस । तपाईंका सेना/मेना यो सहकारी ठगीको कुरालाई ढाकछोप गर्नेगरि, त्यसलाई पर्दा हाल्नेगरि अनावश्यक बचाउमा लाग्नेगरि बाँदर नचाउने काम चाहीँ नगर्नुहोस । अदालतबाट अन्तिम फैसला हुँदा न्याय पाउनुभयो भने कसैले केही भन्दैन् ।’
उनले यो विषय अदालतको विषय र आदेशको विषय भएकोले कानूनी शासनको मर्यादाविरुद्ध गतिविधि नगर्न सुझाव दिए । सहकारी ठगीसम्बन्धी बनेको संसदीय समितिले रवि लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको ठहर गरेको उनले स्मरण गराए । उनले रविको पक्षमा एक करोड नागरिकले हस्ताक्षर गरे भनेरपनि भन्न पाईने बताए ।
तर, रास्वपाका मान्छेहरु कांग्रेस र एमालेकोमा रविलाई प्रतिशोध साँधियो भनेर रुँदै कराउँदै हिँडेको पनि थापाको आरोप छ । उनले रास्वपाको हस्ताक्षर अभियानलाई राजनीतिक प्रोपाण्डाको संज्ञा दिए । उनले भने,‘यो हस्ताक्षर अभियानको नाममा उहाँहरुले पार्टीको प्रचार गर्नुभएको छ । त्यो त गरिरहनुहोस न । कुरा के हो भने पृथ्बीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न ।’




प्रतिक्रिया