काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा रामहरि अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल एनआरएनए अमेरिकाको महासचिवको रूपमा कार्यरत अधिकारी संस्थाका लागि अनुभवी र विश्वासिलो अनुहार हुन्।
उम्मेदवारी घोषणा गर्दै अधिकारीले आफू कुनै गुटको नभई संस्थालाई थप मजबुत, पारदर्शी र समावेशी बनाउनका लागि आएको बताए। उनले न्युयोर्क शाखा (च्याप्टर) को महासचिव र दुई कार्यकाल अध्यक्ष भई काम गरिसकेका छन्।
उनले एनआरएनएलाई व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित बनाउने आफ्नो लक्ष्य रहेको पनि स्पष्ट पारे।
अधिकारीका अनुसार उनको अभियान तीन मुख्य लक्ष्यमा केन्द्रित हुनेछ। पहिलो, संस्थाको आन्तरिक सुधार र सबैलाई एकजुट गराउने। दोस्रो, अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने। र,तेस्रो, गैर आवासीय नेपाली नागरिकता, दोहोरो कर हटाउने, नेपालमा लगानी भित्र्याउने र नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने।
संस्थामा देखिएको सबैभन्दा ठूलो चुनौती भनेको गुटबन्दी र पारदर्शिताको कमी भएको भन्दै उनले सबैलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् । उनले आफू विजयी भएमा संस्थाको संरचनालाई अझ बलियो बनाउने र सबैलाई समान अवसर दिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिकारीले एनआरएनएमा भागदौडको होइन, परिणाम दिने नेतृत्वको खाँचो रहेको बताए। उनले सबैको सहयोग र विश्वासले नै सशक्त एनआरएनए बनाउन सकिने भन्दै सबैलाई आफ्नो अभियानमा साथ दिन अनुरोध गरेका छन्।




प्रतिक्रिया