बाबुराम, बादल, विप्लवलगायतले माओवादी छोडेर गल्ती गर्नुभयोः सुदन किराती


काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पार्टी विधिमा चल्नुपर्छ भनेर प्रश्न उठाउँदा विभाजनको हल्ला चलाइएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले पार्टी विधिमा चलाऔं, थितिमा चलाऔं र कुनै व्यक्तिको पैतृक सम्पत्तिजस्तो पार्टी नबनाऔं भन्दै आएको बताए । उनले आफू पार्टीमा कुनै गुटको पक्षपाती नरहेको बताए । आफू एजेण्डाको आधारमा पक्षपाती हुनेगरेको पनि उनले सुनाए ।

नेता किरातीले पार्टीभित्र अन्तरसंघर्ष भयो भन्दैमा दोस्रो, तेस्रो, चौथो पोजिसनमा भएका नेताहरुले पार्टी छाडेर जानु गलत रहेको बताए । बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव, रामबहादुर थापा बादल लगायत लक्षित गर्दै उनले पार्टी छाड्नु उनीहरुको कमजोरी भएको बताए । नेता किरातीले प्रश्न उठाउँदा आफूमाथि हजार पटक कारबाही गरिए पनि पार्टी नछाड्ने र उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन नगर्ने बताए ।

‘पार्टीभित्र दोस्रो, तेस्रो, चौथो स्थान लिएर नेतृत्व गरेका मान्छेहरुले पार्टीभित्र अन्तरसंघर्ष भयो भन्दैमा जस र दोष प्रचण्डको टाउकोमा लगाएर भाग्न मिल्दैन । कमजोरी त्यहाँ भयो । तपाईँले भन्नुभयो– ‘प्रभाकरले पार्टी फुटाउँदा तपाईँ कता लाग्नुहुन्छ ?’ पार्टी फुट्दैन । लेखेर राख्नुस् पार्टी फुट्दैन । एकचोटी होइन, प्र्रश्न उठाउँदा एक हजारचोटी कारबाही गरे पनि पार्टी छोडिँदैन । यो हाम्रो पार्टी होइन रु हाम्रो उमेर समूहकाले सबैभन्दा बढी बलिदानी गरेको छ,’– उनले भने ।