रामविश्वास रायले सुझाए मधेशमा खानेपानीको समस्या समाधानको उपाय, डीप बोरिङले भविष्यमा झनै समस्या ल्याउने चिन्ता व्यक्त


काठमाडौं, १७ साउन । जानकी नगर साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रामविश्वास रायले तराई–मधेशमा रहेका इनार, कुवा, मुहान, पानी जम्ने खोल्साखाल्सीहरु पुरिएको कारण खानेपानीको अभावलगायतका समस्याहरु देखिन थालेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले तराई–मधेशको वन सुरक्षित नरहनु र ठूला–ठूला बर, पिपल, सिमल, जामुन, आँपजस्ता ठूला–ठूला रुखहरु काटिँदा समस्या देखिएको बताए ।

त्यस्तै तराइको चुरेमा अत्याधिक फडानी, आगो तथा डढेलो लाग्ने, वन जंगल फडानी, सडक बनाउने जस्ता कार्यले पनि जलवायु परिवर्तनमा नकारात्मक असर देखिएको उनको भनाइ छ । उनले मधेशको नदी नालामा आवश्यकताभन्दा गिटी, बालुवा झिक्ने कार्य भएको, त्यो गिटी बालुवा विहारसम्म पठाउनेसम्मको काम भएको बताए ।

मधेशमा देखिएको पानीको समस्या समाधानका लागि भएका ताल, तलैया, नदी, कुवा, इनार यो सबैलाई स्थानीयले सुरक्षा गर्नुपर्ने, बाटोघाटो, ऐलानी, पर्ती जग्गा, गुम्बा, मस्दिज, स्वास्थ्य चौकी सबै ठाउँमा विरुवा लगाएर हराभरा बनाउनुपर्ने, गिटी बालुवाको निकासा रोक्नुपर्ने, खोलाहरुबाट मिसिन लगाइ बालुवा झिक्ने कार्य रोकिनुपर्ने उनको सुझाव छ । यो कार्य सरकारले घोषणा गरेको डीप बोरिङभन्दा पनि राम्रो र उपयुक्त हुने उनको भनाइ छ ।

साथै, उनले डीप ट्युबेलले भविष्यमा अझ धेरै असर पार्ने पनि बताए । अब वातावरण र प्राकृतिका स्रोत साधनको संरक्षणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलेसमेत बजेट विनियोजन गर्नुपर्ने उनले बताए ।

‘पालिकाले वन जंगलको लागि पैसा छुट्याएन भने, आफ्नो ठाउँमा रुख विरुवा लगाएन भने त्यसको बजेट कालोसूचीमा राख्नुपर्छ । प्रदेश सरकार र केन्द्र सरकारको पनि ध्यान जाओस्,’– उनले भने ।