काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्न नमानेको खुलासा गरेका छन् । आज विराटनगरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवाले प्रचण्डलाई भेट्न नमानेपछि आफूले प्रचण्ड, पूर्व राष्ट्रपति विद्या भण्डारीलगायतसँग भेट गरेको बताए ।
सभापति देउवालाई आफूले माओवादीलगायत सबै दलसित भेट्नुस्, देशको समस्याबारे छलफल गर्नुस् भन्ने सुझाव दिएको उनले बताए । तर, सभापति देउवाले अहिले एमालेसित गठबन्धन रहेकाले अरुसित भेट्न उपयुक्त नहुने भन्ने जवाफ दिएको पनि उनले सुनाए । जोसित गठबन्धन छ, त्यहीसित मात्र भेट्नुपर्छ भन्ने मान्यता आफूले नराख्ने पनि उनले बताए ।
‘प्रचण्डजीलाई मैले भेटेँ भन्ने आयो होला । शेखरले किन भेटेको होला भन्ने कुरा आयो होला । मैले सभापतिजीलाई पटक–पटक भनेँ भने– तपाईँ नेपाली कांग्रेसको मात्रै नेता होइन । तपाईँ यो देशैको नेता हो । तपाईँजतिको सिनियर राजनीतिज्ञ अरु कोही पनि छैनन् । नेपालमा अहिले छैनन् । तपाईँले बोलाएर भेट्नुस् । देशको परिस्थिति यस्तो छ कसरी जाने ? छलफल गर्नुस् । चियाँ पिएर पठाउनुस् । उहाँ के भन्नुहुन्छ ? हैन हैन हुँदैन त्यसरी । अहिले हाम्रो गठबन्धन एमालेसित छ, एमालेसित मात्रै भेट्नु्पर्छ । जुन बेला माओवादीसित थियो, माओवादीसितमात्रै भेट्नुपर्छ । म त्यो मान्यता राख्दिनँ । मलाई के लाग्यो भने माओवादीसित पनि भेटौं, भोलि मधेशी दलसित पनि भेटौंला । अनि मैले विद्या भण्डारीजीलाई पनि भेटेँ,’– उनले भने ।




प्रतिक्रिया