काठमाडौं, १७ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले राजनीति देश र जनताको लागि सेवा भएको भन्दै सबै नेता तथा कार्यकर्ताहरु यही भावना बोकेर हिँड्नुपर्ने सुझाव दिएका छन् । पार्टीको समाजवादी ट्रेड युनियन महासंघ, नेपाल बौद्धिक पेशाकर्मी महासंघ र संघीय समाजवादी खेलकुद महासंघले आज संयुक्त रूपमा आयोजना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको नीति र विचार लिएर जनताको घरघरमा पुग्नको लागि सबैलाई अपिल गरेका छन् ।
उनले जसपा नेपालबाट विद्रोह गरेर अहिलेको नयाँ जसपा बनाउनुको कारणसमेत सुनाएका थिए । हिजो जसपा नेपाल एकल निर्णय र हैकमवादमा चलेको भएपनि अहिले जसपा सामूहिक निर्णयमा चलेको भन्दै यही स्पिरिट तल्लो तहसम्म पुर्याईने महतोको विश्वास छ । उनले हजार जना फटाहाभन्दा दश जना सत्यवादी र इमानदार मान्छे भए समाज र देशको लागि हितकर हुने भन्दै अहिले जसपा निर्माणको चरणमा रहेकोले विस्तारै सत्यको पक्षमा आम जनताको साथ र सहयोग रहने विश्वास दिलाए ।
उनले पार्टीले संघीयता, सुशासन, समृद्धि र समाजवादको लागि विशेष कार्यक्रम बनाएर नै काम गरिरहेको स्पष्ट पारे । उनले पार्टीको सही नीतिको कारण जनताको आकर्षण बढिरहेको भन्दै आगामी दिनमा देश र जनताको हितको लागि अनि मुलुकको समृद्धिको लागि अझै प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।




प्रतिक्रिया