एमाले विभाजनको औचित्य पुष्टि भएनः झलनाथ खनाल


काठमाडौं, १७ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले) विभाजनको औचित्यता पुष्टि हुन नसकेको बताएका छन् । आज (शनिबार) सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा उनले एमाले विभाजन गरेको चार वर्षसम्ममा त्यसको औचित्यता पुष्टि हुन नसकेको बताएका हुन् ।

यो चार वर्षमा पार्टी औचित्यता पुष्टि गर्ने ढङ्गले पार्टी अगाडि बढ्न नसकेको उनको भनाइ छ । कार्यदिशा, नीति, सिद्धान्तको आधारमा पार्टी अगाडि बढ्न नसकेको, दक्षिणपन्थी अवसरवादको खण्डन र आलोचना पार्टीले गर्नै नसकेको उनको भनाइ छ । पार्टी नेतृत्वले अरुलाई जिम्मेवारी पनि नदिएको र आफूले पनि काम गर्न नसकेको उनले बताए ।

‘विद्रोहको औचित्य स्थापित हुन सकिरहेको छैन । सबैभन्दा मुख्य कुरा त्यो र आम कार्यकर्ता, तपाईँ मेची जानुस्, महाकाली जानुस् । पहाड जानुस्, मधेश जानुस् औचित्य स्थापित गर्ने काम राम्रोसँगले हुन सकेन भन्ने सबैको असन्तुष्टि छ । मैले यही कुरा उठाइदिएको हो । आम कार्यकर्ताको मनोभावना छ, त्यो मनोभावना मैले उठाएको छु र त्यो उठाउने क्रममा हाम्रो आजको जो नेतृत्व हो, त्यो नेतृत्वलाई मैले खबरदारी गरेको पनि छु,’– उनले भने ।

साथै, उनले यहाँसम्म आइपुग्दा अध्यक्ष नेपालमा अध्ययन र वैचारिकताको हिसाबले परिपक्वता नदेखिएको उनको भनाइ छ । ‘यहाँसम्म आइपुग्दाखेरी मैले अध्ययनको हिसाबले पनि, वैचारिक हिसाबले पनि, व्यवहारिक हिसाबले पनि धेरै परिपक्व हुनुहुन्छ होला भन्ने मैले ठाने । त्यो कारणले गर्दा विद्रोह गर्दा तपाईँ नै अध्यक्ष बन्नुस् भने मैले । तर अहिलेसम्म आउँदाखेरी सन्तुष्ट हुन सकिएन,’– उनले भने ।