काठमाडौं, १८ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कुनै पनि हालतमा पार्टी नछाड्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कसैले पार्टी छाड भन्दैमा आफूले नछाड्ने बताएका हुन् । नेता खनालले देशको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त दिन र विशृङ्खलित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन एकीकृत समाजवादीको उदय भएको बताए ।
‘मैले कुनै पार्टी छोड्नका निम्ति पार्टी बनाएको होइन । यो नेकपा (एकीकृत समाजवादी) यो देशको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी कार्यदिशा दिन, नीति दिन, सिद्धान्त दिन र नेपालको विशृङ्खलित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनको लागि बनेको पार्टी हो । यो पार्टी मैले छोड्ने प्रश्न नै छैन । मैले व्यक्ति विशेषले भनेका कुराहरु मान्नुपर्ने कुनै बाध्यता छैन । मेरो पार्टी नेकपा (एकीकृत समाजवादी) हो । त्यो पार्टी भनेको कमिटी प्रणालीले चल्ने पार्टी हो । केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र तलका कमिटीहरु छन् । कमिटीबाट कुनै पनि कुराको निर्णय हुन्छ व्यक्तिले निर्णय गर्दैन,’– उनले भने ।
नेता खनालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी बनाउनु गलत नभए पनि आम कार्यकर्ताले चाहेजस्तो त्यो विद्रोहको पुष्टि गर्न नसकिएको बताए । एकीकृत समाजवादीले विद्रोहको पुष्टि गर्न सकेन भने त्यो गलत सिद्ध पनि हुनसक्ने खतरा रहेको उनले बताए । उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ धरातल र उचाइमा उठाउन, पार्टीलाई दक्षिणपन्थी अवसरवादबाट मुक्त गर्न, क्रान्तिकारी कार्यदिशातर्फ लान आफूहरुले विद्रोह गरेको बताए ।
‘त्यो विद्रोह गर्नु गलत थियो भन्ने होइन । हामीले पुष्टि गर्न सकेनौं भने त्यो गलत सिद्ध पनि हुनसक्छ भन्ने कुरा हो । हामीले गलत गरेको होइन । हामीले त कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा उठाउन, पार्टीलाई दक्षिणपन्थी अवसरवादबाट मुक्त गराउन, क्रान्तिकारी कार्यदिशातर्फ लान, यो पार्टीलाई आम जनताको बीचमा, वर्गहरुको बीचमा पुर्याउन विद्रोह गरेको हो,’– उनले भने ।
नेता खनालले आफूले पार्टीको १०औं महाधिवेशनले अगाडि सारेको वैज्ञानिक समाजवादको कार्यक्रमलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तको आधारमा पार्टी नयाँ ढंगले निर्माण गरेर जाऔं, पार्टी पुनर्गठन गरौं भनिरहेको बताए । अध्यक्ष माधव नेपालको अझैं पनि जनताको बहुदलीय जनवादको धङ्धङीबाट मुक्त हुन नसकेको उनले बताए । आफूहरुको बीचमा मतभेद आउनुको मूल कारण नै त्यही रहेको उनले बताए ।
साथै, उनले पार्टी अध्यक्ष नेपाललाई कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा चल्छ भन्ने कुरा बिर्सन नहुने बताए । आफूले कसैले दिएको आदेश नमान्ने पनि उनले बताए । ‘कमरेड तपाईँ कम्युनिष्ट पार्टीको अध्यक्ष हो । कम्युनिष्ट पार्टीको अध्यक्षले कम्युनिष्ट पार्टीमा कमिटी प्रणाली हुन्छ भन्ने कुरा कहिल्यै विर्सन मिल्दैन । तपाईँले व्यक्तिगत रुपले आदेश दिएर कसैले पनि पालना गर्दैन । झलनाथ खनालले पनि त्यस्ता आदेश पालना गर्दैन । कमिटीगत रुपमा भएका निर्णयहरुलाई मात्रै ठीक छ मानिन्छ, कमिटीले नै गरेको निर्णय पनि ठीक छैन लाग्यो भने विद्रोह पनि गरिन्छ,’– उनले भने ।




प्रतिक्रिया