मोदीको कार्यकालमा भारतले लोभलाग्दो प्रगति गरेको छः पूर्वराजदूत श्रेष्ठ


काठमाडौं, १८ साउन । पूर्वराजदूत मोहन कृष्ण श्रेष्ठले छिमेकी मुलुक भारतले कनेक्टिभिटीको क्षेत्रमा लोभ लाग्दो प्रगति गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतमा प्रतिघण्टा ३ सय मिलोमिटर डौडिने रेलको समेत विकास भइसकेको बताए ।

साथै, उनले नेपाल र भारतबीचको सम्बन्ध एकदमै पुरानो भए पनि बेला–बेलामा समस्या आइरहेको बताए । भारतले नेपालजस्तो सानो मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्न सक्नुपर्ने र आएका समस्याहरुलाई उच्च नेतृत्वबीच वार्ता र मध्यस्थताबाट सल्टाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुँदाखेरी नेपालको तर्फबाट प्रष्ट आफ्ना कुराहरु राखिनुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भनेर सुनिराखेको छु । नेपालको परिस्थितिमा नयाँ प्रधानमन्त्री आउनुभयो भने सबैभन्दा पहिला जिज्ञासा हुने विषय हो– प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ भन्ने कुरा । हामीले सुनेअनुसार उहाँको भ्रमण हुँदैछ । निकै राम्रो कुरा हो । भ्रमण भएपछि टेवल टक्स हुँदाखेरी आफ्नो–आफ्नो कुराहरु राख्न पाउनुपर्छ । गुजुल्टिरहेका समस्याहरुलाई समाधान गर्ने बाटो त्यही हुन्छ,’– उनले भने ।

साथै, उनले नेपालमा धार्मिक पर्यटन प्रवर्द्धनको सम्भावना निर्क रहेको बताए । उनले पशुपतिनाथ, मुक्तिनाथदेखि लिएर विभिन्न मठ मन्दिरहरुमा भारतीय धार्मिक पर्यटकहरुलाई ल्याउन सकिने बताए । ‘धर्मको दृष्टिकोणले सबैलाई बोलाउन सकिने ठाउँ धेरै छ । भारतीयहरु आएको संसारको सबैभन्दा राम्रो देश भनेको नेपाल भनेर प्रचार गरेको पनि मैले देखेको छु,’– उनले भने ।

उनले अहिले भारतीयहरु धनी भइसकेको र लाखौं लाख खर्च गर्न सक्ने क्षमता राख्ने बताउँदै नेपालमा उनीहरुलाई पर्यटकको रुपमा भित्र्याउन सक्नुपर्ने बताए । भारतले विश्वमा अहिले आफ्नो प्रभाव फैलाइरहेको बताउँदै उनले आफ्नो ‘छिमेकी पहिला’ को नीति लिइनुपर्ने बताए ।

उनले भारतका लागि आतङ्कवाद अहिले सबैभन्दा चुनौतिको विषय रहेको बताए । यसबारेमा पनि नेपाल सरकारले भारतलाई विश्वास दिलाउन सक्नुपर्ने र सीमानामा रहेका समस्याबारे पनि समाधानको पहल खोजिनुपर्ने उनले बताए ।

‘भारतले नेपालसँग अति राम्रो सम्बन्ध भएको, रोटी–बेटीको सम्बन्ध भएको देशलाई साना–साना कुरामा अल्झाउन हुँदैन । उहाँहरुको दिल अलि फराकिलो हुनुपर्छ,’– उनले भने ।

साथै, भारतजस्तो ठूलो जनसंख्या भएको देशमा नेपालले आफ्ना उत्पादनहरु विक्री गरेर फाइदा लिन सक्नुपर्ने उनले बताए । नेपालले भारतसँग र भारतले नेपालसँग जहिले पनि राम्रो सम्बन्ध राख्नुपर्ने उनले बताए ।