समावेशिता राजनीतिक पदमा पुग्नका लागिमात्रै हो, यो कुनै कामको कुरा होइनः प्रधानमन्त्री ओली


काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सुनिश्चित गरेको समावेशिता राजनीतिक पदमा पुग्नका लागिमात्रै रहेको बताएका छन् । सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले समावेशिता कुनै कामको कुरा नरहेको बताए । समावेशिता भन्दा पनि प्रत्येक व्यक्तिले आफ्नो शिक्षा, सीप र क्षमता विकास गर्नुपर्ने उनको भनाइ छ ।

‘यो समावेशिता भनेको पोलिटिकल पदमा पुग्नका लागि मात्रै हो । कुनै कामको कुरा होइन यो । डाक्टर, इन्जिनियर भए, राम्रो पढे भने महिलाहरु आफैं अगाडि सरिहाल्छन् । आफैं त्यहाँ पुगिहाल्छन् । त्यसकारण एजुकेशन, स्किल र क्यापासिटी बिल्डिङ मुख्य कुरा, दीगो कुरा भनेको त्यो हो,’– उनले भने ।

प्रधानमन्त्री ओलीले क्युवामा ठूलो प्रतिशत महिला डाक्टर रहेको, त्यहाँ डाक्टर र प्रोफेसर पेशा भनेको महिलाहरुको जस्तो पेशा भएको बताए । उनले त्यो कुनै समावेशिताको आधारमा नभएको दाबी गरे ।