स्थायी कमिटीमा जनार्दनको प्रष्टोक्तिः म माओवादी छाड्नेवाला छैन


काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति बैठकमा पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम जारी छ । आज उपमहासचिव जनार्दन शर्मा, उपाध्यक्ष अग्नि सापकोटा, सचिव हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, यशोदा सुवेदी, विश्वनाथ साह, गिरिराजमणि पोखरेल, पेशल खतिवडा, चक्रपाणि खनाल, दिनानाथ शर्मा, शक्ति बस्नेत, नन्दबहादुर पुन, पम्फा भुसाल, कृष्णबहादुर महरा, डिलाराम आचार्य, लिलामणि पोखरेल, हरिबोल गजुरेल र नन्द प्रसाईंले धारणा राखेका थिए ।

बैठकमा उपमहासचिव शर्माले आफ्ना कुरा प्रष्ट राखेको अर्का उपमहासचिव वर्षमान पुनले बताए । आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव शर्माले आफूले माओवादी नछाड्ने बताएको पनि पुनले सुनाए ।

‘पार्टीभित्रको समस्याको बारेमा साथीहरुले आ–आफ्नो विषय राख्नुभएको छ । खुला, स्पष्ट छलफल भएको छ । जनार्दन कमरेडले आज बोल्नुभयो । उहाँले पनि आफ्ना कुरा खुलेर राख्नुभएको छ । कति मेरा पनि कमजोरी थिए, कति अध्यक्ष, कति साथीहरुका भनेर आफ्नो कुरा प्रष्ट राख्नुभएको छ । म यो पार्टी छोड्नेवाला छैन, म यो पार्टीमै रहने हो । पार्टीमा आफ्नो कुरा राख्नुभयो,’– उनले भने । File Photo/RN