काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा (एमाले) लाई आफूहरुले कम्युनिष्ट पार्टी नै नमानेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै महामन्त्री सिंहले एमाले मार्क्सवादी–लिनिनवादी सिद्धान्तबाट पतन भइसकेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका कयौं विषयमा सही नीति अपनाउन नसकेको पनि उनले बताए । सरकारका क्रियाकलापहरु सही नरहेको उनको भनाइ छ । ‘एमालेलाई जनताले कम्युनिष्ट पार्टी मान्छन् ? हामीले त्यसलाई कम्युनिष्ट पार्टी नै मानेका छैनौं । उनीहरुले आफूलाई कम्युनिष्ट बताउँछन्, जनताले उनीहरुलाई कम्युनिष्ट भन्छन् । तर, त्यो कम्युनिष्ट छैन । एमाले मार्क्सवादी, लेनिनवादी सिद्धान्तबाट पतन भएको पार्टी हो । त्यसलाई हामीले कम्युनिष्ट पार्टी मान्दैनौं,’– उनले भने ।
एमाले र त्यसका अध्यक्ष ओलीसँग कयौं मतभेद रहँदा रहँदै पनि राजावादी र प्रतिगमनविरुद्धको नीतिमा आफूहरुको समर्थन रहेको उनले बताए । ‘अहिले प्रतिगमनको विरुद्ध जुन दृढ नीति अपनाएको छ । त्यसलाई हामीले सही मानेका छौं, त्यसलाई हामीले समर्थन गरेका छौं । ओलीसँग हाम्रा कतिपय मतभेद रहेका छन् । अहिले उनले राजावादीहरुको विरुद्ध, प्रतिगमनको विरुद्ध ओलीले जुन नीति अपनाएका छन्, त्यसलाई हामीले समर्थन नै गरेका छौं,’– उनले भने ।




प्रतिक्रिया