काठमाडौं, १९ साउन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वमाथि भइरहेको चौतर्फी आक्रमणको सामूहिक प्रतिवाद आवश्यक रहेको औंल्याएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले नेकपा ९एमाले० र पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहारको निशाना बनेको बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘आज हाम्रो पार्टी र आन्दोलनमाथि जसलाई केन्द्र विन्दु बनाएर आक्रमण गरिएको छ, त्यसलाई स्थापित नगरी यो आन्दोलन अगाडि बढ्न सक्दैन, अहिले प्रहारको निशाना पार्टी अध्यक्ष बन्नु भएको छ, अहिले भइरहेको प्रहार पार्टीविरुद्धको प्रहार होइन र ?’
२०८४ सालमा हुने सबै तहका निर्वाचनमा एकल बहुमत हासिल गर्ने लक्ष्यका साथ पार्टीले अगाडि सारेको मिसन– २०८४ का लागि केपी ओलीको नेतृत्व अनिवार्य छ भनेर केन्द्रीय कमिटीले निष्कर्ष निकालिसकेको उनको दाबी छ । उनले भने,‘मिसन–२०८४ को लागि केपी ओलीको आवश्यकता छ भन्ने कुरामा पार्टी केन्द्रीय कमिटी पुगेको छ, तर आउने महाधिवेशनमा नेतृत्वका लागि इच्छा राख्ने कसैलाई पनि प्रतिस्पर्धा गर्नबाट रोकिँदैन ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पार्टीले ठिक निर्णय गरेछ भन्ने अनुभूति स्वयं भण्डारी र राष्ट्रले पनि गर्ने गरी एमाले अघि बढ्ने प्रष्ट पार्नुहुँदै यसमा अन्यथा सोच्न आवश्यक नरहेको उनले स्पष्ट पारे ।




प्रतिक्रिया