काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी सम्मानित नेता झलनाथ खनालले पार्टी विधि, पद्धति र अनुशासनको दृष्टिकोणले निकै गम्भीर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उपाध्यक्ष खतिवडाले झलनाथले नै वाक युद्धको सुरुवात गरेको र उनले दिएका अभिव्यक्तिहरु आपत्तिजनक रहेको बताएका हुन् । त्यसो हुँदाहुँदै पनि झलनाथ खनालको एकीकृत समाजवादीभन्दा बाहिर भविष्य आफूले नदेखेको उनको भनाइ छ ।
‘एकछिन भड्किएर उहाँहरु काही बोल्नुभयो होला । झलनाथ खनालले नै यो बोलीको सुरुवात गर्नुभयो । धेरै नै आपत्तिजनक कुरा बोल्नुभयो । तर, त्यसो गर्दागर्दै पनि फेरि नेकपा (एकीकृत समाजवादी) भन्दा बाहिर झलनाथ खनालले पनि काहीँ अर्को भविष्य देख्ने ठाउँ चाहिँ मैले देखेको छैन,’– उनले भने ।
नेता खतिवडाले पार्टीभित्र समस्या देखिएको स्वीकार गरे । सम्मानित नेता खनालले गरेका, बोलेका कतिपय टिप्पणीहरु पार्टी विधि, पद्धति र अनुशासनको दृष्टिकोणले निकै गम्भीर रहेको उनले बताए । त्यति हुँदाहुँदै पनि कतिपय चिजहरु भने मननयोग्य रहेको उनको भनाइ छ ।




प्रतिक्रिया