पार्टीभित्रको कुरा सार्वजनिक रुपमा बोल्ने अभ्यास राम्रो होईन, माओवादी फुट्दैन : सांसद घर्ती (भिडिओसहित)


काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद पूर्णबहादुर घर्तीले पार्टीभित्र अलि अलि छलफल हुँदैमा विभाजन नहुने बताएका छन् । उनले स्थायी कमिटीको बैठकपछि माओवादी एक ढिक्का हुने विश्वास दिलाए । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले जीवन्त पार्टीभित्र बहस तथा छलफल हुने कुरा स्वभाविक भएको बताए ।

उनले पार्टीभित्रको कुरा भित्रै गर्नुपर्ने बताउँदै बाहिर बोल्ने कुरा गलत भएको बताए । उनले भने,‘पार्टीभित्रको कुरा सार्वजनिक रुपमा गर्ने कुरा कोही पनि व्यक्तिले गरेको भएपनि त्यो राम्रो अभ्यास होइन । पार्टीको केही नम्स हुन्छ । परिवारको पनि एउटा मर्यादा हुन्छ । मान्यता हुन्छ । परिवारभित्रको कुराहरु छताछुल्ल पारेर आँगनमा लगेपछि, टोल छिमेकमा मान्छेहरुले टिकाटिप्पणी गर्न लागेपछि त्यो परिवारको मर्यादा रहँदैन । पार्टी पनि एउटा परिवारजस्तै हो, त्यहाँ पनि मर्यादा हुन्छ । पार्टीभित्रको विषय भित्रै छलफल हुनुपर्छ ।’ माओवादीभित्र अहिले पुस्तान्तरणका बहस चलिराखेको बताए ।