पासाङलाई सुदर्शनको जवाफः तपाईँले झैं विप्लवले प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्नुहुन्थ्यो


काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टीका नेता सुदर्शन सीले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई विप्लव र जनार्दनलाई एउटै डालोमा राखेर नदाज्न चेतावनी दिएका छन् । माओवादी स्थायी समिति बैठकमा उपाध्यक्ष पासाङले प्रचण्डको बचाउ गर्दै जनार्दनमा अहिले विप्लवको जस्तै अतिवादी प्रवृत्ति देखिएको टिप्पणी गरेका थिए ।

पासाङको उक्त टिप्पणीको खण्डण गर्दै सुदर्शनले भनेका छन्, ‘हामी नन्द किशोर पुन ‘पासाङ’ को यो भनाईलाई खारेज गर्दछौं । पासाङजी तपाईले विप्लव र जनार्दन शर्मा प्रभाकरलाई एउटै डालोमा हेर्ने तपाईको आँखामा नै ठूलो भुल छ । तपाई सधैं प्रचण्डको गुलामी गरेर उपराष्ट्रपति पाउनुभयो । अहिले तपाईको प्रचण्डप्रतिको गुलामी अब अर्कोपटक राष्ट्रपति भइला भन्ने होला बढीमा ।’

उपराष्ट्रपति भएर पासाङले आफ्नो गाउँमा एउटा सुविधाजनक बाटोसमेत बनाउन नसकेको भनेर रोल्पा राङ्सीका जनताहरुले भनिराखेको पनि उनले स्मरण गराएका छन् । तर, पासाङले काठमाडौंको दहचोकमा दशौं करोड पर्ने विशाल कम्पाउण्डसहितको भव्य महल बनाएको पनि उनको दाबी छ ।

पासाङले एउटा छोरालाई तस्करी गर्न लगाएर काठमाडौंमा तीन–चारवटा घर जोड्न लगाएको र अर्को छोरालाई अवैध सुन बेच्न लगाएर पैसाका लागि जे गर्न पनि छुट दिएको उनको आरोप छ । जनार्दन शर्माको बारेमा आफूहरुलाई भन्नु केही पनि नरहेको बताउँदै उनले विप्लवमाथिको विश्लेषण असाध्यै घटियाखालको रहेको उल्लेख गरेका छन् । विप्लवले पासाङले झैं प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्ने र काठमाडौंमा दर्जनभन्दा बढी आलिसान महल बनाउन सक्ने पनि बताएका छन् ।

‘विप्लव कमरेडले तपाईलेजस्तो प्रचण्डको गुलामी गरेको भए दर्जन पटक मन्त्री बन्न सक्थे । काठमाडौंमा दर्जनको हारहारीमा आलिसान महल बनाउन सक्थे । तर विप्लवले त प्रचण्डकोजस्तो जसरी पनि संसदीय फोहरी राजनीतिमा छिरेर आफ्ना जनयुद्धका आदर्श भुल्ने काम गर्नुभएन,’– उनले भनेका छन् ।