काठमाडौं, १९ साउन । पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता कार्यान्वयनका लागि अन्तर–धार्मिक राष्ट्रिय गोलमेच सम्मेलन–२०८२ आयोजना गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी भदौ २३, २४ र २५ गते काठमाडौंमा गोलमेच सम्मेलन आयोजना गरिएको जानकारी गराइएको हो ।
सम्मेलनको मूल उद्देश्य देशका विविध धर्म र सम्प्रदायहरूबीच आपसी संवाद, विश्वास, र सहकार्यको वातावरण निर्माण गर्दै संविधान संशोधन जस्ता गम्भीर विषयमा साझा धारणा र सुझाव प्रस्तुत गर्नु रहेको बताइएको छ ।
सम्मेलनमा हिन्दु, बौद्ध, इस्लाम, किरात, ख्रीष्टियन, बहाई, जैन, बोन, सिख, प्रणामी, मस्टो, कबिरलगायतका अन्य अल्पसंख्यक धर्म समुदायहरूका प्रतिनिधिहरू, मानव अधिकारकर्मी, कानूनविद् शान्ति– निर्माणमा संलग्न संस्थाहरू, युवा तथा महिला अगुवा, राष्ट्रिय मानव अधिकार आयोगसमेत सहभागिता रहने बताइएको छ ।
सम्मेलनपश्चात सबै सहभागीहरूद्वारा अनुमोदन गरिएको ‘काठमाडौं अन्तर – धार्मिक घोषणापत्र–२०८२’ जारी गर्दै निष्कर्ष र सिफारिसहरू सरकार, संसद्, मानव अधिकार आयोग, तथा सम्बन्धित सरोकारवाला संस्थाहरूलाई बुझाइने बताइएको छ ।
अन्तर–धार्मिक राष्ट्रिय गोलमेच सम्मेलनका संरक्षक विश्वेन्द्र पासवानले नेपालको संविधानमा धर्मनिरपेक्षताको गलत व्याख्या गरिएको बताए । उनले यो देश एउटै जाति, एउटै भाषा र एउटै नश्लकोमात्रै बनाउन खोजिएको आरोप लगाए । नेपालमा ३७ प्रतिशतभन्दा बढी अन्तर धार्मिक समुदाय रहेको उनले बताए ।
‘यो देश बहुधार्मिक राष्ट्र हो भन्ने कुरा प्रमाणित भइसकेको छ । बहुधर्मको सोचबाट सबै नागरिकहरुको नैसर्गिक अधिकारको रुपमा रहेको धर्मनिरपेक्षताको सम्मानपूर्वक कार्यान्वयन हुनुपर्छ,’– उनले भने ।




प्रतिक्रिया