राजावादीहरुले जुम्लालाई राजनीतिक रोटी सेकाउने अखडा बनाइरहेका छन्, त्यसैले मैले प्रतिकार गरेको होः छिरिङ ल्हामु लामा


काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले राजावादीहरुले जुम्लालाई राजनीतिक रोटी सेकाउने अखडा बनाएको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजावादीहरुले जुम्लालाई राजनीतिक रोटी सेकाउने काम गरेकाले आफूले प्रतिकार गरेको बताएकी हुन् ।

‘जुम्लालाई राजावादीले राजनीतिक रोटी सेकाउने अखडा बनाइराखेको छ पछिल्लो समय । त्यसले गर्दा मैले प्रतिकार गरेको हो । म खबरदारी गर्न चाहन्छु,’– उनले भनिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रले जुम्लामा गएर बनाएको भ्लगको बारेमा नेतृ लामाले दिएको अभिव्यक्ति विवादमा परेको थियो । उनले हृदयेन्द्रलाई भोटे कुकुरको छाउरोको संज्ञा दिएकी थिईन् । राजावादीहरुले जनतालाई मुर्ख बनाइरहेको उनले बताए । अब राजावादीहरुलाई माओवादीले राजाको इतिहास पढाउने दिन आइरहेको उनले बताईन् ।

‘जसले राजतन्त्रको एजेण्डा बोकेर हिँडिराखेको छ, जसले राजा हुँ भनेर हिँडिराखेको छ, राजा ल्याउँछौं भनेर सडकमा आन्दोलन गरिराखेको छ । जनतालाई बेबकुफ बनाइराखेको छ, जनतालाई मुर्ख बनाइराखेको छ, तिनीहरुलाई राजाको इतिहास पढाउन आवश्यक छ । माओवादीले राजावादीलाई राजाको इतिहास पढाउने दिन आइसक्यो,’– उनले भनिन् ।