काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पार्टीभित्र बसेर सार्वजनिक रुपमा नेतृत्वको विरोध गर्दै हिँड्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले स्थायी समिति बैठकमा पार्टी नीति, नेतृत्व र विचारविरुद्ध कसैले पनि सार्वजनिक रुपमा नबोल्ने निर्णय भएको बताएका हुन् । यद्यपि पार्टीभित्र प्रक्रियागतरुपले नेतृत्वको आलोचना गर्न पाइने, विषय राख्न पाइने, नेतृत्वको विकल्पको कुरा गर्न पनि पाइने उनले बताए ।
‘पार्टीभित्रका आन्तरिक समस्याहरु हल गर्नका निम्ति गम्भीर छलफल चल्यो । विषय उठ्यो र बाहिर पार्टी नीति, नेतृत्व र विचारविरुद्ध कसैले पनि सार्वजनिक रुपमा नबोल्ने । वैचारिक बहस गर्न पाइन्छ । अभिव्यक्तिको स्वतन्त्रता, काम कारबाहीमा एकरुपता भन्ने लेनिनवादी सिद्धान्तलाई पार्टीलाई पुनर्जीवित गर्ने निर्णय गरेका छौं,’– उनले भने ।
सचिव पौडेलले प्रचण्डको विकल्पमा अहिले कोही पनि नेताहरु नरहेको बताए । उत्तराधिकारीको चेन तयार पारेर वैकल्पिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने छलफल भने धेरै पहिलादेखि चल्दै आएको उनले बताए । ‘प्रचण्डको विकल्पमा अहिले कोही पनि नेताहरु छैनन् । तर पनि उत्तराधिकारीको चेन तयार पारेर पार्टीमा वैकल्पिकरुपमा अगाडि बढ्नुपर्छ भन्ने कुरा त धेरै पहिलादेखि नै हामीले छलफल चलाएका छौं । तर, अहिले नै प्रचण्डको विकल्पमा अर्को कोही नेतालाई उभ्याएर, उहाँलाई हटाएर बनाऔं भन्ने कुरामा कसैले समर्थन गरेको होइनन् । प्रचण्ड प्रश्नविहीन व्यक्ति हुनुहुन्छ, कसैले आलोचना, प्रश्न राख्न पाइँदैन भनेर विलकुल हामीले गरेका छैनौं,’– उनले भने ।
साथै, विभिन्न छरिएका वामपन्थी, त्यसमा पनि पूर्व माओवादीसँगको एकता प्रक्रियालाई पनि माओवादीको तर्फबाट पहलकदमी लिने र नयाँ धारको रुपमा पार्टीलाई अगाडि बढाउनेगरी निर्णय गरेर बैठक समापन गरिएको उनले बताए ।




प्रतिक्रिया