माओवादीको माइन्युटमा चार वर्षदेखि छैन जनार्दनको हस्ताक्षर


काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी बैठकको माइन्युटमा चार वर्षदेखि हस्ताक्षर नगरेको तथ्य बाहिरिएको छ । माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार शर्माले उपमहासचिवको रुपमा चार वर्षदेखि हस्ताक्षर गरेका छैनन् ।

पार्टी स्थायी कमिटी बैठकमा बोलेका ५० जनामध्ये ४९ जनाले जनार्दनले हस्ताक्षर नगरेको कुरा उठाएको नेता पौडेलले बताए । ‘चार वर्षदेखि उहाँले उपमहासचिवको हैसियतले माइन्यूटमा हास्ताक्षर गर्नुभएको थिएन । ५० जना बोलेको साथीहरुमध्ये ४९ जनाले त्यो कुरा उठाउनुभयो । कमसेकम कमिटीको बैठकमा आइसकेपछि माइन्यूटमा हस्ताक्षर गर्नुस्, हस्ताक्षर नगरी हिँड्ने कुरा सही हुँदैन भनेर उठाउनुभयो,’– सचिव पौडेलले भने ।

स्थायी कमिटी बैठकमा सबै सदस्यहरुले उक्त कुरा उठाइसकेपछि जनार्दनले अब देखि हस्ताक्षर गर्ने प्रतिवद्धता व्यक्त गरेको पनि उनले सुनाए । साथै, पार्टीमा बसेर सार्वजनिक रुपमा नेतृत्व (प्रचण्ड) को विरोध गरेको भन्दै स्थायी कमिटीका सदस्यहरुले जनार्दनको आलोचना गरेका थिए ।

‘प्रचण्ड नेतृत्वको पार्टीमा रहिरहने, फेरि प्रचण्ड ठीक छैन, यसले गर्दैन, अब हामी गर्छौं भनेर बाहिर त्यस प्रकारका अभिव्यक्ति नदिऊँ । कमिटीमा नेतृत्वको विकल्प खोज्न पनि पाइन्छ, बाहिर त्यो प्रकारको आशयका कुराहरु नगरौं भन्ने कुरा साथीहरुले उठाउनुभएको हो,’– उनले भने ।