काठमाडौं, २० साउन । निजामती सेवा विधेयकअन्तर्गत ‘कुलिङ पिरियड’ मा भएको छेडखानी छानबिन गर्न बनेको समितिले आज प्रतिनिधिसभामा प्रतिवेदन पेश गर्ने भएको छ । नेपाली कांग्रेसका सांसद जीवन परियार सभापति रहेका सात सदस्यीय समितिले आज प्रतिवेदन पेश गर्न लागेको हो ।
समितिकी सदस्य ईश्वरी घर्तीले आज विहान करिब साढे चार वजे सर्वसम्मत रुपमा सो प्रतिवेदनमा हस्ताक्षर भएको बताईन् । उनले भनिन्, ‘आज प्रतिनिधिसभामा समितिका सभापति जीवन परियारले त्यहाँ वाचन गर्नुहुन्छ । त्यो प्रतिवेदनमा निकै महत्वपूर्ण निचोड हामीले निकालेका छौं ।’
उक्त विशेष समितिको सभापति परियार रहेका छन् भने सदस्यहरुमा सुशीला थिङ, ईश्वरी घर्ती र नारायण आचार्य, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की रहेका छन् ।
समितिले कुलिङ पिरियडमा भएको छेडखानीमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर गरेको स्रोतको दाबी छ ।




प्रतिक्रिया