विपद् जोखिम न्यूनीकरणको लागि सरकारले सम्पूर्ण पूर्वतयारी गरिरहेको छ : कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौं, २० साउन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको लागि सरकारले सम्पूर्ण पूर्वतयारी गरिरहेको बताएका छन् । आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र मुख्यसचिव एकनारायण अर्यालसँगको छलफलपछि कार्यवाहक प्रधानमन्त्री सिंहले विपद्सम्बन्धी पूर्वसूचनालाई पालना गर्न र जोखिम रहेको स्थानहरुमा रहेका सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

उनले सो भेटवार्ताबारे फेशबुकमा लेखेका छन्–

देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ। भेरी र बबई नदीमा जलस्तर खतराको तह पार गरेको र सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ । महाकाली र कर्णालीमा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेको छ ।

मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि सरकारले सम्पूर्ण रुपमा पूर्वतयारी गरिरहेको छ । विपद्सम्बन्धि पूर्वसूचनालाई पालना गर्न र जोखिम रहेको स्थानमा रहनुहुने सबैलाई शतर्क रहन पनि आग्रह गर्दछु ।